काठमाडौंबाट धनगढी पुग्नेले भने 'बल्ल ढुक्क भो'
धनगढी : भाडा नलाग्ने बसहरु नपाएपनि, घण्टौ लाईनमा लागेर र ग्यालरीमा उभीर भएपछि धेरै जना आज पनि धनगढी पुगेका छन।काठमाण्डौंको विपत्तिबाट धनगढी पुगेपछि धेरैले आनन्दको श्वास लिएका छन।
महाविपत्तिको निरासापछि आफुहरु सुरक्षीत भएको अनुभव उनीहरुले सुनाएका छन। उपचारका सिलसिलामा काठमाण्डौं पुगेकी कञ्चनपुरको बेलौरीकी हेमलता भण्डारीले, धनगढी पुगेपछि बल्ल बाच्ने श्वास आएको बताईन।काखमा दुधे बालक च्यापेकी उनले, अब ठुक्क भएको बताईन।
उपचारका सिलसिलामा काठमाण्डौं पुगेकी, भण्डारीले, महाभुकम्पको अघिल्लो दिन राजधानीमा रहेको धरहरा, भक्तपुर दरवार र हनुमानढोका दरवार लगायतका पर्यटकीय स्थलहरु अवलोकन गरेको बताईन।
'मैले हेरेका रमणीय स्थलहरु केही पनि बाँकी रहेनन, धन्न शनिबार धुम्न जाने योजना बनेको थियो, तर डाक्टरले विहिबार नै घरजान भनेपछि, एक दिन अघि घुम्ने योजना बनेको हो' महाविपत्ती सम्झीदै उनले भनिन।
शनिवार आएको महाभुकम्पले भण्डारीको परिवारलाई केहि नगरेपनि धरहरा लगायत उनले अवलोकन गरेका धेरै संरचनाहरु धवस्त भएको थाहा पाएपछि ग्लानी भएको प्रतिक्रिया दिईन।
धनगढी हसनपुर घर भई कृतिपुरमा बस्ने नोहरी चौधरीले पनि विहीबार धनगढी पुगेपछि बल्ल खुसी लागेको बताईन।शनिवार दिउसो लोकसेवाको परिक्षा दिईरहेका बेला भुकम्प आएपछि, त्यसको साँझ मात्रै आफ्नो परिवारको सम्पर्कमा पुगेकी उनले, आफुसँगै दुई बालवालिका पनि लगेकी थिईन।
'परिक्षाको पेपर हात परेपछि लेख्न सुरु गरेकी मात्रै के थिए, महाभुकम्पले कोलाहल मच्चायो, त्यसपछि ३ दिनसम्म खुला चौरमा रात बिताए, अब ढुक्क भएको छ' धनगढी बसपार्कमा बसबाट झर्दै उनले भनिन।
बिक्रम सम्बत १९९० सालको महाभुकम्पको कथा पुराना मनिसहरुले सुनाउदा अहिले पनि धेरैको आङ जिरिङग हुन्छ।त्यसको झण्डे आठ दशकपछि फेरी उहि प्रकृतिको महाभुकम्पको सामना नेपालले गरेको छ।
काठमाडौको छाउनी क्वाटरको ३ तले घरको पिल्लर मात्रै बाँकी रहेपनि त्यहाँ बस्ने धनगढीको महालक्ष्मी कडायतको परिवार सकुसल धनगढी पुगेको छ।'वालबच्चा सहित घर बाहिर निस्कीएर ज्यान जोगाए थिए, धनगढी पुगेपछि बल्ल बाँच्छुकी भन्ने लागेको छ' कडायतले भनिन।
महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या अझ धेरै पुग्ने अनुमान लगाईएको छ।हजारौ घरहरु भत्कीएपछि त्यसमुनी च्यापीएकाहरूको उद्धारको कार्य अझै जारी छ।भत्कीएका संरचनाहरुभित्र च्यापीएका मानिसहरुलाई अझै पनि जिउदै उद्धार गरेका खबरहरू सार्जजनिक भईरहेका छन।
बस नपाएको भन्दै आक्रोस
यातायातका साधन नपाउँदा धेरै सुदुरपश्चिमवासीहरु घर फर्किन पाएका छैनन्।यसक्षेत्रका अधिकांश यातायात व्यवसायीले पठाएका भनेका वसहरु काठमाण्डौ पुगेका छैनन् भने संघ सस्थाहरुले लगेका वसहरुको संख्या भन्दा यात्रुहरुको चाप अत्याधिक हुँदा झन समस्या भईरहेको छ।
सरकारले निशुल्क भनेका र यसक्षेत्रका यातायात व्यवसायीले पठाएका वसहरु प्रचारमै सिमित भएको काठमाण्डौवाट घर फर्किन चाहने सुदुरपश्चिमवासीहरुले आरोप लगाएका छन।
'सुदुरपश्चिम क्षेत्रका विभिन्न यातायात व्यवसायीहरुले धमाधम थप वसहरु पठाईरहेको प्रचार गरिरहे पनि प्रचारमा पठाइएका ती वसहरु काठमाण्डौ पुग्न सकेका छैनन।दैनिक रुपमा वसपार्कमा टिकट काट्न जाँदा पनि घर फर्किन चाहनेहरुले टिकट पाउन सकेका छैनन' काठमाण्डौमा अध्ययन र जागीरे गर्नुहुने अत्तरीयाका दिनेश विष्टले बताए।
सरकारले निशुल्क रुपमा घर फर्काउने भने चर्को नारा घन्काएका वेला भाडा तिरेर पनि सुदुरपश्चिमवासीहरु घर फर्किन पाएका छैनन।उनीहरुले तोकिएको भाडादर भन्दा वढी रकम तिर्दा पनि टिकट पाउन सकेका छैनन् भने चर्को भाडा असुली समेत भईरहेको तालिमका लागि काठमाण्डौ जानुभएकी महेन्द्रनगरकी ईन्दु साउँदले भनिन।
सदुरपश्चिमबाट महाकाली यातायात, सुदूरपशिचम यातायात, कर्णाली यातायात र उग्रतारा यातायातले काठमाडौँमा रहेका सुदुरपश्चिमका भुकम्प पिडीतलाई ओसार्न दर्जनौ बस काठमाडौ पठाएको दाबी गरेपनि धेरै बसहरु कर्णाली कटेका छैनन।
यात्रु ल्याउन दुई वटा वस लगेर काठमाण्डौ गएको अत्तरीया उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गम्भीर साउँदले राजधानीमा सुदूरपश्चिमका बसहरु नभेटिएको बताए।
भुकम्पपछि खुल्ला स्थानमा वसिरहेका सुदुरपश्चिमवासीहरुको अवस्था निकै दईनीय छ।उनीहरु वसेको वरपर धेरै फोहोर भएका कारण महामारी फैलन सक्ने खतरा पनि बढेको छ।
टुडीखेल लगायतका स्थानमा महामारी फैलिने डरले घर फर्किनेहरुको भिडभाड रहेको काठमाण्डौंबाट धनगढी फकेएका वझाङका महेश वोहोराले बताए।
सोर्स-अन्नपूर्ण पोस्ट्


