झन्डै डेढ महिनापछि भारतीय सेनाको अन्तिम टोली आज स्वदेश फर्कियो


भूकम्प गएको झन्डै डेढ महिनापछि भुकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागी आएको भारतीय सेनाको सबै टोली आज स्वदेश फर्किएका छन् । वैशाख १२ गते मध्याहृन ७.८ रेक्टर स्केलको भूकम्प गएको छ घन्टाभित्रै भारतीय सेनाको विशेष विमान र तालिम प्राप्त कुकुरहरुसहित सेना आएको थियो । सो मध्ये केही टोली यसअघि नै फर्किसकेको भएपनि यहाँ रहेको अन्तिम टोली आज मात्र फर्केको हो । भारतीय सेनाका ७ सय ११ जना खोज तथा उद्धार टोली, २ सय २६ जना मेडिकल टीम, ३ सय ३२ जना कमब्याट इनिनियर्स टीम तथा २२६ जना एयर फोर्स गरी जम्मा १ हजार ४ सय १५ जना नेपाल आएका थिए । एमआई १७ हेलिकोप्टर ८ वटा र एएलएच पाँचवटा आएका थिए । भारतीय सेनाले काठमाडौंमा १ हजार ३ सय ८९ पटक उडान गरेको थियो । यसले भूकम्प प्रभावित जिल्लामा २ हजार ७३ जना स्वदेशी नागरिक तथा २ सय ७ जना विदेशी नागरिकलाई उद्धार गरेको थियो । साथै भारतीय हेलिकोप्टरले ३ लाख ९६ हजार ६ सय ३५ केजी खाद्यान्न एवं १ लाख ६२ हजार ९५ केजी राहत सामाग्री पीडित क्षेत्रमा पुर्‍याएको नेपाली सेनाले जानकारी दिएको छ । यसैगरी भारतीय वायुसेनाले पोखराबाट ९ सय ८२ जना स्वदेशी नागरिक तथा ७७ जना विदेशी नागरिकलाई उद्धार गर्नुका साथै १ लाख ५० हजार ८ सय ८० खाद्यान्न केजी एवं १ लाख २३ हजार २ सय ३० केजी राहत सामग्री पुर्‍याएको थियो । भारतीय टीमले नेपाली सेनासँग मिलेर गोरखा, भक्तपुरमा अवरुद्ध बाटो खुलाउन र भग्नावशेष हटाउन सहयोग गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्...