मदन तामाङका हत्यारा पक्रने आदेशले दार्जीलिङमा हलचल


फोटो :अदालतको आदेशपछि दार्जीलिङको सडकमा खटिएका प्रहरी । तस्बिर : हिमायल दर्पण
मोर्चाका २३ नेता पक्रन अदालतको आदेश
विर्तामोडः पाँच वर्षअघि हत्या गरिएका अखिल भारतीय गोर्खा लिगका नेता मदन तामाङको हत्यामा संलग्नलाई अदालतले पक्रन आदेश दिएपछि दार्जीलिङमा हलचल मच्चिएको छ ।

तामाङको हत्या आरोपमा दार्जीलिङमा छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डका लागि आन्दोलनर गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेतालाई अदालतले पक्राउ गर्न आदेश दिएपछि दार्जीलिङमा हलचल मच्चिएको हो ।

कोलकाताको नगर सत्र न्यायालयले शनिबार दिएको आदेशमा मोर्चाका अध्यक्ष तथा गोर्खाल्याण्ड टेरिटोरियत एडमिनिस्टे«सन प्रमुख विमल गुरुङसहित मोर्चाका  २३ शीर्ष नेतालाई पक्राउ गर्न भनिएको छ ।

न्यायधीश गोपालचन्द्र कर्मकारको इजलाशले २० दिनभित्र उनीहरुलाई पक्रन केन्द्रीय जाँच व्यूरो सिआईवीलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतको आदेशपछि दार्जीलिङ, कालेबुङ र खरसाङ लगायतका स्थानमा नेतालाई पक्राउ गरिए पहाड जल्ने चेतावनीयुक्त भाषाका पोस्टर टाँसिएका छन् ।

आइतबार दार्जीलिङ पहाडका पसलहरु एकाएक बन्द भए । तर, बन्द आह्वान कसैले नगरेको सिलिगुढीबाट प्रकाशित हुने हिमालय दर्पणले उल्लेख गरेको छ । दार्जीलिङको स्थिति तनावपूर्ण हुने भन्दै पर्यटकहरु तराई तिर झर्न थालेका छन् ।

मोर्चाको विपक्षमा रहेका दलहरुले गुरुङलगायत नेताहरुलाई पक्राउ गरेर अनुसन्धानमा तान्न माग गरेका थिए । विपक्षी पाँचवटा दलले डेमोक्रेटिभ फ्रन्ट गठन गरेर मोर्चाका नेतालाई नियन्त्रणमा लिन ज्ञापन पत्रदेखि पोष्टरिङसम्मका दबाब कार्यक्रमलाई तीव्रता दिएका थिए ।
दार्जीलिङ बजार
लिग र मोर्चा विच मतभेद चुलिएकै समयमा तामाङको हत्या भएपछि हत्याको दोष नेता गुरुङ र उनको दल गोर्खा जनमुक्ति मोर्चालाई लाग्दै आएको थियो ।

फ्रन्ट सम्लग्न दलहरुले गुरुङलाई पक्राउ गर्न माग गर्दै सहरका विभिन्न स्थानमा पोष्टर टाँसेका थिए । प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन जुटेका नेपाली भाषी भारतीयको अगुवाई गर्दै गोर्खाल्यान्डका नेता बनेका गुरुङले जनताको भावनालाई कदर नगरेको गुनासो आइरहेको थियो ।

केही दिनअघि दार्जीलिङ आएका केशरीनाथ त्रिपाठीलाई फ्रन्टको प्रतिनिधी मण्डलले भेटेर गुरुङसहितलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

भेटमा नेता प्रताप खातीले हत्याकाण्डमा मोर्चा प्रमुख गुरुङलाई सर्वसाधारणलाई जस्तै कारवाही गर्न माग गरेका थिए । हत्याअघि मदन तामाङ दार्जीलिङका गोर्खाल्याण्ड पक्षधर नेता थिए ।

तर, उनले विमल गुरुङको कार्यशैलीप्रति चर्काे आलोचना गर्थे । उनको सन् २०१० मे २१ का दिन दार्जीलिङमा आफ्नै दलको आमसभामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्...