मलेसियामा ६ म्याग्निच्यूटको शक्तिशाली भूकम्पको धक्का



काठमाडौं, जेठ २२- मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ  ।

मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबालुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको अमेरिकन भुगर्भ विभागले जानकारी गराएको छ ।

भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन ।

अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार, भूकम्पको गहिराई १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पपछि माउन्ट किनाबालु क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।

अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाबालुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ ।

सबाह राज्यका पर्यटन तथा वातावरण मन्त्री  मसिदी मनजुनले ४ हजार ९५ मिटर अग्लो कोटा किनाबालु पहाडमा रहेका केही पुरातात्विक महत्वका पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

भूकम्पपछि कोटा किनाबालु पहाडमा उद्धार जारी रहेको जनाउँदै त्यहाँकै आकर्षण केन्द्र ‘गधाको कान’ आकारको चट्टानलाई भूकम्पले क्षति पुगेको बताइएको छ । भूकम्पले कोटा किनाबालु चढ्न गएका आरोहीहरु घाइते भएपछि उद्धार थालिएको छ ।

मलेसियामा लाखौ नेपालीहरु श्रमिकका रुपमा कार्यरत छन् । आजको भूकम्पमा परि कोही पनि नेपाली हाताहात भएको जानकारी हाल सम्म प्राप्त भएको छैन । 





प्रतिक्रिया दिनुहोस्...