समाचार संकलनमा अवरोध गर्दै सिडियोले थुने पत्रकारलाई
मिडिया एनपी, नुवाकोट, २६ जेठ । जिल्ला दैवीप्रकोप उद्धार समिति बैठकको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका कोषाध्यक्ष कपिलदेव खनाललाई नियन्त्रणमा लिएर प्रहरीले ५ घण्टापछि मुक्त गरेको छ ।
मंगलबार बिहान १० बजे नियन्त्रणमा लिएका पत्रकार खनाललाई दुई बुँदे सहमति पछि अपरान्ह साढे तीन बजेर तिर प्रहरी नियन्त्रण मुक्त गरेको नुवाकोटका पत्रकार रामहरि न्यौपानेले मिडिया एनपीलाई जानकारी दिए । जिल्ला दैवीप्रकोप उद्धार समिति बैठकमा सहभागीले बोलेको दृष्य र आवाज रेकर्ड गर्न नमिल्ने भन्दा विवाद भएपछि राष्ट्रिय समाचार समिति, इमेज च्यानल र अनलाइन खबरका नुवाकोट संवाददाता समेत रहेका खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अर्थमन्त्री रामशरण महतका पूर्वस्वकीय सचिव रमेश महतले भूकम्प पीडितका लागि इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता बिक्री गर्न खोजेको विषयमा छलफल चलिरहेका बेला रेकर्ड गरेको आरोपमा खनाललाई पक्राउ गरिएको हो ।
रेकर्ड गरेको विषयमा विवाद भएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा प्रहरी प्रमुख नायब उपरीक्षक अरुण पौडेल आफैंले खनाललाई पक्राउ गरेका थिए ।
रेकर्ड गरेको विषयमा विवाद भएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा प्रहरी प्रमुख नायब उपरीक्षक अरुण पौडेल आफैंले खनाललाई पक्राउ गरेका थिए ।
जस्तापाता अनियमितताको सम्बन्धमा यसअघि अर्थमन्त्रीका स्वकीय सचिव रमेश महतले काठमाडौमा पत्रकार सम्मेलनको क्रममा पनि उनका समर्थकले कारोबार दैनिकका पत्रकार शिव बोहोरामा माथि आक्रमण गरेका थिए ।