शान्ति सेनाले महिलाहरुलाई शारीरिक सम्पर्कका लागि उक्साउँछनः अध्ययन
काठमाडौं, जेष्ठ २८ । हिंसाग्रस्त मुलुकहरुमा खटिएका संयुक्त राष्ट्रसंघका शान्ति सेनाले त्यहाँका युवती तथा महिलाहरुलाई महंगा सामान दिएर शारीरिक सम्पर्कका लागि उक्साउने गरेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघ आफैंले गरेको एक आन्तरिक अध्ययनले देखाए अनुसार राष्ट्रसंघिय शान्तिसेनाले शारीरिक सम्पर्क राख्न त्यहाँकास्थानीय महिलाहरुलाई सरसामान दिने गरेका छन् ।
शान्ति सेनाले गहना, पैसा, मोबाईल फोन तथा अन्य सामानहरु दिएर शारिरिक सम्पर्क स्थापित गर्ने गरेको र यसले हिंसाग्रस्त मुलुकहरुमा अबैध बेश्यावृत्ती बढाएको अध्ययनको निष्कर्ष छ ।
राष्ट्रसंघले आफ्नो शान्ति सेना खटिएका हाईटी र लाईबेरीयामा गरेको गोप्य अध्ययनबाट यो खुलाशा भएको हो ।
अध्ययनमा सहभागि स्थानीय महिला तथा किशोरीहरुले महंगा सामानको बदलामा यौन सम्पर्क राख्ने गरेको स्विकारेका हुन् ।
राष्ट्रसंघले सार्वजनिक नगरेको गोप्य प्रतिवेदनका अनुसार सन् २००८ देखि २०१३ को विचमा यौनशोषण तथा दुव्र्यवहारका ४ सय ८० उजुरी दर्ता गरिएका छन् ।
ती मध्ये एक तिहाई उजुरीमा बालबालिका समेत सामेल भएको बताइएको छ ।
राष्ट्रसंघको आन्तरीक रिपोर्टको हवाला दिंदै समाचार एजेन्सीहरु रोयटर्स र एपीले जनाएअनुसार पछिल्लो दशक विश्वमा शान्ति सेना परिचालन गर्ने क्रम ह्वात्तै बढेको छ । एजेन्सी