सर्पको टोकाइबाट बालकको ज्‍यान गयो


राजविराजः उदयपुरको बेल्टार ३ मा सोमबार राति सर्पदंशबाट एक बालकको  ज्‍यान गएको छ। घरको आँगनमा खेलिरहेका कैलाश खडकाको अढाई बर्षीय छोरा निशान खडकालाई राति ७:३० बजे गोमन सर्पले डसेर मृत्यु भएको हो। उपचारको क्रममा पाँच घण्टापछि भुल्केस्थित नेपाली सेनाको ब्यारेकमा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
एक साताअघि गएको सोमबार भैसीलाई घाँस काट्न खेत गएकी उदयपुर हडियाँ गाविस—४ अजगढाकी २० बर्षीया सीता खडकाको समेत सर्पदंशबाट मृत्यु भएको थियो।
सर्पले हातमा डसेको थाहा नपाएकी खडकाको उपचारमा ढिलाई हुँदा मृत्यु भएको थियो। हसियाँले हात काटेको ठानेर वेवास्ता गरेकी उनको शरिरमा बिष सर्दै गएर गम्भीर भएपछि उपचारका लागि विराटनगर हुँदै धरान पुर्‍याइएको थियो। 
 
गर्मी मौसम बढदै जाँदा उदयपुरको हडियाँ, जोगिदह, सुन्दरपुर, रामपुर ठोक्सिलासहित त्रियुगा, बेल्टार, बसाहा र कटारी नगरपालिका क्षेत्रमा सर्पदंशको घटनामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्...