पर्दाअगाडि छोरा पछाडि बाबु



पोखरा : प्रकृतिले सिँगारेको पर्यटकीय नगरी पोखरा चलचित्रकर्मीका लागि 'खुला स्टुडियो' पनि हो। हिमाल, ताल, वनजंगल, नदी, भीर, गुफा अनेक आकर्षक स्थललाई चलचित्रकर्मी आफ्नो चलचित्रमा उतार्न चाहन्छन्।

स्वदेशीमात्रै होइन, विदेशी चलचित्रकर्मीलाई समेत मोहनी लगाउँदै आएको पोखरामा पछिल्लो समय नेपाली कथानक चलचित्र 'ड्रिम्स' छायांकनमा व्यस्त छ।

प्राकृतिक सुन्दरता र सुविधासम्पन्न होटेलहरूले भरिपूर्ण पोखराको पृष्ठभूमिमा बनिरहेको यस चलचित्रका निर्देशक हुन्, सदाबहार अभिनेता भुवन केसी। चलचित्रका नायक छन्, उनकै छोरा अनमोल।

नेपाली चलचित्रमा रोमान्टिक हिरोको छवि बनाएका भुवनले होम प्रोडक्सनमा बनिरहेको चलचित्रमा छोरालाई प्रेमी, लडाकु र व्यापारीको भूमिका दिएका छन्।

पाँचतारे होटेल फूलबारी रिसोर्ट परिसरमा 'एक्सन कट्'मा व्यस्त केसीले पोखरा सुन्दर नगरी भएकाले पहिलो रोजाइमा रहेको बताए। 'ड्रिम्स प्रेमकथाले भरिपूर्ण चलचित्र भएकाले यसमा कुनै भल्गर छैन', उनले सुनाए, 'सबै परिवार बसेर रमाइलोसँग हेर्न मिल्छ।'

उनले दुई वर्षदेखि निर्देशन गर्ने सपना बुने पनि अहिले आएर साकार पारेको बताए। 'फिल्म निर्देशन गर्ने सोच वर्षौंपछि पूरा गर्दैछु', उनले भने, 'पहिला उपल्लो मुस्ताङमा सुटिङ भइरहेको बेला भूकम्प आएपछि रोकेर राहत बाँड्नतिर लाग्यौं।

अहिले फेरि काममा फर्किएका हौं।' भुवनले यसअघि काजोल फिल्मस्को ब्यानरमा 'सपना', 'करोडपति', 'नेपाली बाबु', 'सुपरस्टार', 'म तिमीबिना मरिहाल्छु'लगायतका चलचित्र बनाइसकेका छन्।

यो चलचित्र युनिटले अझै केही दिन पोखरा आसपासका क्षेत्रलाई चलचित्रमा कैद गर्नेछ। छिनमै घाम र छिनमै वर्षा। मौसमको कुनै भर नभएको पोखरामा छायांकन चलिरहँदा उखरमाउलो गर्मीले सबैको ज्यानबाट पसिना निकालिरहेको थियो।

चत्रचित्रका नायक अनमोल र नवनायिका साम्राज्यराज्यलक्ष्मी शाह भने कृत्रिम छहाराको चिसोमा कुममा कुम जोड्दै नृत्यमा रमाइरहेका थिए। जोडीलाई नृत्य निर्देशक कविराज गहतराजले तालमा ताल मिलाउन लगाइरहेका थिए।

अनमोलले चलचित्रको नामजस्तै यो चलचित्र बुवा भुवनको पनि 'ड्रिम्स' भएकाले राम्रो बनाउन निकै मेहनत गरेको बताए। फूलबारी रिसोर्टको मालिकको भूमिकामा उत्रिएका उनले होम प्रोडक्सन भएकाले काम गर्न सजिलो भएको बताए।

 'होस्टल'बाट डेब्यु गरेका उनको 'जेरी'पछि होम प्रोडक्सनको यो तेस्रो चलचित्र हो।यसअघि मोडलिङमा जमेकी चलचित्रकी नायिका शाहले कथा मन परेकाले अभिनयमा होमिएको बताइन्।

'पहिलो अभिनयमा सबैको साथ पाउँदा निकै खुसी लागेको छ', उनले भनिन्, 'म साधारण केटीको भूमिकामा छु।'






प्रतिक्रिया दिनुहोस्...