साउदी अरेबियाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु


विगत वर्षदेखि नै अशान्त रहँदै आएको यमनमा पुनः साउदी अरेबियाको सेनाले हवाई आक्रमण थालेको समाचार छ । हवाई आक्रमणको क्रम शनिबार बिहानैदेखि सुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । साउदी अरेबियाको हवाई आक्रमणमा हालसम्म यमनमा करिब एक सय जनाको ज्यान गएको छ । सयुक्त राष्ट्रसघंका अनुसार यमनमा साउदी हमला रोकिएको छैन ।
यमनको मध्य नगर तायजमा शनिबार बिहानैदेखि साउदी अरेबियाको सेनाले यस्तो हमला थालेको बताइएको छ । सो नगरमा केही दिनदेखि संयुक्त राष्ट्रसंघीय सहायताकर्मीले सहायताका लागि अभियान सुरु गरेको बताइएको थियो ।
तायजको अर्बाइन सडकलाई घेरामा हालेर अरेबियन सेनाको युद्धक विमानले हमला थालेको बताइएको छ । सो नगरमा केही दिनयतादेखि सिया हुथी विद्रोहीले आक्रमण गर्न थालेका थिए ।
ती विद्रोही तथा इरानको सहयोगका विद्रोही र यमनका राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका समर्थक सेनाका बीच केही दिनयतादेखि आपसमा आक्रमण र प्रत्याक्रमण सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।
गएरातिदेखि सो सडकमा हिंसा जारी रहेको थियो । साथै बिहानै हुथी विद्रोहीहरुले तायजका छिमेकी नगरहरुमा पनि बम आक्रमण गर्न थालेपछि साउदी सेनाले हमला थालेको बताइएको छ ।
साउदी सेनाले दुई महिनाअघि पनि यमनमा यस्तो कारबाही गर्ने गरेको थियो । यमनका राष्ट्रपति हादी हुथी विद्रोहीको खतरापछि देश छोडेर भाग्नु परेको थियो ।
उहाँ भागेर साउदी अरेबिया पुग्नुभएको थियो । त्यसपश्चात नै उहाँको सहयोग र पुनस्र्थापनाका लागि साउदी अरेबियाले यमनमा सैनिक कारबाही थालेको हो ।
पछि हुथी विद्रोहीको शक्ति क्षिण भएको भन्दै साउदी अरेबियाको सेनाले दुई महिनाअघिदेखि सो आक्रमण बन्द गरेको थियो । गएरातिदेखि पुनः हुथीहरुले यमनी सेनामाथि नै जाइलाग्न थालेपछि साउदी सेनाले यो हमला थालेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्...