लुम्विनी अञ्चलमा ४०१ प्रहरी कारवाहीमा
३० असार, भैरहवा । आर्थिक वर्ष ०७१/७२मा लुम्बिनी अंचलमा कार्यरत ४ सय १ प्रहरी कारवाहीमा परेका छन् । त्यस्तै अपराधको सफल अनुसन्धान र राम्रो काम गरेबापत २ सय ४ जना प्रहरी पुरस्कृत भएका छन् ।
अंचल प्रहरी कार्यालय लुम्बिनीका अनुसार कारवाही तथा पुरस्कृत हुनेमा अधिकांश तल्लो दर्जाका प्रहरीहरु छन् । प्रहरीको आचरण बिपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नती रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धि प्रतिकुल राय दिने जस्ता कारवाही भएको लुम्बिनी अञ्चलका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक -एसएसपी) गणेश केसीले बुधबार पत्रकार भेटघाटमा जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक बर्षमा ७ प्रहरी निरीक्षक, २५ प्रहरी नायब निरीक्षक, ४६ प्रहरी सहायक निरीक्षक, ८१ प्रहरी हवल्दार, २ सय ३५ प्रहरी जवान र ७ जना प्रहरी कार्यालय सहयोगीहरु विभागिय कारवाहीमा परेका हुन् ।
बिभागिय कारवाहीले व्यक्तिको बृत्ती बिकासमा कम्तीमा २ बर्ष असर गर्छ ।
यस्तै राम्रो काम गरे वापत १ प्रहरी उपरिक्षक, ३ प्रहरी नायब निरीक्षक, १६ प्रहरी निरीक्षकसहित २ सय ४ जना प्रहरी पुरस्कृत भएको एसएसपी केसीले बताए ।
यसैबीच अदालतले अपराधी ठहर गरेर फरार रहेका १ सय ६३ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतले दोषी ठहर गरेका तर फरार रहेका रुपन्देहीबाट ४३, नवलपरासीबाट ५५, कपिलवस्तुबाट १९, पाल्पाबाट ३७ र अर्घाखाँचीबाट ९ जना पक्राउ परेका हुन् ।