१० वर्षीय बालकलाई बलि चढाइयो


फोटो :फाइल फोटो
परासी : नवलपरासीको कुडिया गाविस–४ मा एक बालकलाई स्थानीय झाँक्रीले बलि चढाएका छन् ।

गाउँमा झारफुक (सोखा) को काम गर्ने स्थानीय रुद्धल चमारले छिमेकी शिवमंगल कोहाँरका १० वर्षीय छोरा जीवन कोहाँरलाई बलि चढाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार छिमेकी सुकई चमारका छोरा बिरामी भएपछि रुद्धलले झारफुक गरेका थिए ।

झारफुकका क्रममा सुकईका छोराले मान्छेको मासु खान मन लाग्यो भन्दै बर्बराउन थालेपछि रुद्धलले बालकको हत्या गरेका हुन् ।

सुकईका बिरामी छोरा र हत्या गरिएका बालक साथी हुन् । बिहीबार साँझ बालक हराएपछि आफन्त र गाउँलेले खोजी गर्दा नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

खोजीका क्रममा बालकको शव घरनजिकैको झाडीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरलेले बताए ।

लामा झाँक्रीको काम गर्दै आएका छिमेकी कोदई हरिजनको घरमा रगतका टाटासमेत भेट्टिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न झाँक्री रुद्धलसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा पक्राउ पर्नेमा लक्ष्मी हरिजन, विजय हरिजन, शान्ति हरिजन, सूर्यमान हरिजन र रुद्दल हरिजनसहितका छन् ।

घटनापछि कोदई हरिजन फरार छन्  । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...