श्रीमती कुवेतको जेलमा, म नवलपरासीको मिलमा
म जहानको पर्खाइमा छु : गोपाल दराई पहिलोपटक ०६६/६७ तिर कुवेत गएकी हुन् । त्यहाँ दुई वर्ष बसिन् । थोरैधेरै कमाएर पनि आइन् । घर फर्केको केही महिनामै उनी बहराइन् गइन् । बहराइनमा धेरै लामो समय बसिनन् । के कुरा नमिलेको हो, मलाई थाहा भएन । आठ महिनामै फर्केकी हुन् । केही न केही त गर्नुपर्ने भयो भनेर फेरि उनी काठमाडौं हानिइन् । भृकुटीमण्डपमा होटल चलाउन थालिन् । खाजा बेच्ने होटेल थियो । पार्टनरसिपमा चलाएको भन्थिन् । पछि कुरा मिलेनछ र होटल बेचिन् । फेरि घर फर्किइन् । त्यसपछि पनि काठमाडौं गएर केही समय बसिन् ।उतैबाट कुवेत जाने मेसो मिलेछ र गइन् । हामीलाई जानेबेला फोन गरेकी थिइन् । पछिल्लोपटक जाँदा कति खर्च लाग्यो, हामीलाई थाहा भएन । कसरी, कहाँबाट गएकी हुन्, हामीलाई थाहा भएन । कुवेत पुगेपछि एक–दुईपटक फोनमा कुरा भएको थियो । गएको असोजदेखि कुरा भएको छैन ।फोनमा कुराकानी हुन छाडेपछि मैले उनको बारेमा सोधखोज गरेँ । ठूली छोरीलाई काठमाडौं पठाएँ । कसले पठाएको हो, कसरी पठाएको भनेर छोरीले खोजिन् । तर, पठाउने मेनपावरले स्पष्ट जवाफ दिएनछ । छोरी त्यत्तिकै फर्किइन् । पछि उनी टुरिस्ट भिसामा गएको सुनियो । धेरैपछि मात्रै उनी पक्राउ परेको, जेल परेको हल्ला सुनियो । त्यही भएर सम्पर्क भएको रहेनछ ।म अहिले अर्काको मिलमा काम गर्छु । दिनमा आठ–नौ घन्टा काम गर्नुपर्छ । अलिअलि तलब छ, यसैले घर खर्च चलाएका छौँ । अहिले घरमा छोरा, छोरी र म गरी तीनजना छौँ । एउटी छोरीको बिहे भयो । कान्छो छोरो काठमाडौंमा अर्काको घरमा काम गर्छ ।हामी उनको पर्खाइमा छौँ । जेलमा परेको खबर पाएदेखि नै हामीले यहीँ कावासोतीमा उनको उद्धार गर्न आग्रह गरेका थियौँ ।कसरी छुटाउने हो ? कहाँ जाने ? कसलाई भन्ने केही थाहा छैन । चिनेका ठूला मान्छे पनि कोही छैनन् । अहिलेसम्म सरकारका मान्छे पनि खबर बुझ्न आएका छैनन् । छोराछोरी आमालाई सम्झेर बसेका छन् । जहान पराईको भूमिमा जेलमा परेकी छिन्, म यता मिलमा घोटिइरहेको छु । जहान कुरिरहेको छु । उनलाई कसरी बोलाउने हो, केही थाहा छैन । पैसा पनि छैन । दौडधुप गर्न पनि पाउँदिनँ । सरकार र ठूलो मन भएको मान्छेले सहयोग गर्ला कि भनेर आशा गरेको छु ।