आफ्नै मोवाईल नम्बर समेत सार्वजनिक गर्दै एसएसपी खनालले भने, ‘अब गुण्डानाईकेहरुको दिनगन्ति सुरु भो’
काठमाडौं, भदौ ७ । तत्कालिन प्रहरी अपराध महाशाखा प्रमुख (एसएसपी) पुष्कर कार्कीले २०७१ साउन २१ मा चर्चित गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ मारिएको खबर दिएका थिए । त्यसको ठ्याक्कै एक वर्ष बितेको केहि दिनपछि अपराध महाशाखाकै अर्का प्रमुख एसएसपी सर्वेन्द्र खनालले अर्का चर्चित गुण्डानाईके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएको जानकारी दिए । प्रहरीका अनुसार दुवै गुण्डानाईकेहरु ईन्काउण्टर (मुठभेड) मा मारिएका हुन् ।
अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले गुण्डागर्दी गर्नेहरुको अब दिनगन्ती सुरु हुने भन्दै चेतावनी दिएका छन् । उनले अब गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्न कति दिन लाग्ने हो भन्ने दिनका कुरा मात्र भएको भन्दै कुनै दवाव र प्रभावमा परेर कारवाही नरोकिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अपराधीक गतिविधि लागेका तथा अहिलेसम्म पनि सो नत्यागेकाहरु अब नबच्ने बताउँदै एसएसपी खनालले गुण्डा नाईकेहरु बारे सबै सूचना संकलन भइरहेको बताए ।
राजधानीलाई गुण्डामुक्त क्षेत्र बनाउने अभियान थालेका खनालले अपराधिक गतिविधिमा लागेकाहरुको सूचना दिन व्यक्तिगत तथा कार्यालयको हट लाईन नम्बर समेत सार्वजनिक गरेका छन् । खनालले व्यक्तिगत मोवाईल नम्बर ९८५११८५८११ वा अपराध महाशाखा प्रमुखले प्रयोग गर्ने स्थायी मोवाईल नम्बर ९८५१२८४०३२ मा सम्पर्क गरेर सूचना दिन सबैलाई आग्रह समेत गरका छन् ।