दाङ वा सुर्खेतलाई राजधानी बनाउन १० सभासदको पत्र
२६ साउन, काठमाडौं । प्रस्तावित पाँच नम्बर क्षेत्रका सभासदहरुले दाङलाई राजधानी हुने गरी रुकुम र सल्यानलाई समेत प्रस्तावित पाँच नम्बर प्रदेशमा राख्न आफूहरु तयार रहेको बताएका छन् ।
यदि ५ नम्बर प्रदेशको राजधानी दाङ नभए सुर्खेतलाई केन्द्र मानी बन्ने प्रदेशमा रहन पनि तयार रहेको उनीहरुले बताएका छन् ।
मंगलबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिलाई पत्र लेख्दै १० जना सभासदहरुले मगर र थारु समुदायको पहिचान मेटाउने गरी बुटवल केन्द्र मान्दै प्रस्ताव गरिएको ५ नम्बर प्रदेशका कारण समस्या सिर्जना हुने उल्लेख गरेका छन् ।
विशेष स्वायत्त क्षेत्र माग
पत्रमा पहिचानलाई आधार मानी रुकुम, सल्यान, प्युठान, रोल्पा, बाग्लुङ, म्याग्दी लगायतका मगर बाहुल्य जिल्लालाई समेटेर विशेष स्वायत्त क्षेत्रको रुपमा संविधानमा उल्लेख गर्न पनि माग गरिएको छ ।
यसैगरी दाङ, बाँके, बर्दिया, कैलाली लगायतका थारु बहुल जिल्लालाई पनि विशेष स्वायत्त क्षेत्रको रुपमा संविधानमा उल्लेख गर्न माग समेत गरिएको छ ।
पत्रमा रुकुमका सभासदहरु जनार्दन शर्मा प्रभाकर, गणेशमान पुन र दलजीत श्रीपाइली तथा सल्यानका सभासदहरु प्रकाश ज्वाला र टेकबहादुर घर्तीले हस्ताक्षर गरेका छन् ।
यसैगरी बाँकेकी सभासद अन्जना चौधरी, बर्दियाका सभासद सन्तकुमार थारु, बाग्लुङकी केशरी घर्तीमगर र पाल्पाकी तुलसा रानाले पनि हस्ताक्षर गरेका छन् । तुलसाले थारु बहुल र मगर बहुल जिल्लालाई विशेष स्वायत्त क्षेत्र बनाउने मागमा मात्रै समर्थन जनाएकी हुन् ।