तपाईं आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ? 

आफ्नो परिचय दिनुहोस् न । मेरो नाम गणेश लामा हो । मेरो जन्म थलो काभ्रे तर कर्मथलो काठमाडौं हो । हाल म फोरम (लोकतान्त्रिक) को केन्द्रीय सदस्य पनि छु र म आफुलाई ब्यबसायी भन्न पनि रुचाउँछु । 

धेरैले गणेश लामा डन हो भनेर चिन्छन्, भन्छन् नी ? 



यहि बडम्वना छ । त्यो टाईटल कसले लगाईदियो मलाई थाहा छैन । के गर्दाखेरी डन भनिन्छ र भईन्छ त्यो पनि मलाई थाहा छैन । त्यो शव्द मलाई मन पर्ने शव्द पनि होइन । कि कसैले मलाई तैंले डन बिल्ला पाएको छस् भनेर प्रमाण पत्र दिनुपर्यो कि मलाई डनको बिल्ला भिराइ दिनुपर्यो । म हिजो पनि एउटा संस्कारमा हुर्केको मान्छे । शुरुमा अध्ययन गरें, पढाई पछि एउटा उमेरमा आएर मैंले ब्यापार पनि गरें । त्यो भन्दा अगाडी मेरो झै झगडा पनि भएको थियो । मैले त्यहि अनुसारको सजायाँ पनि पाएँ । त्यसपछि मैले लगातार व्यापार गरें र हाल म सक्रिय राजनीतिमा लागि रहेको छु । म फोरम लोकतान्त्रिकको जिम्मेवार पोष्टमा छु । म माथी लागेका जुन आक्षेपहरु छन् यसका बारेमा मैैंले बिभिन्न मिडियाका साथीहरुलाई भन्दै आएको छु, तैपनि मैैंले अझै मुक्ति पाएको छैन । यो डन भनेको के हो मैले अझै बुझ्न सकेको छैन । 

तपाईले आज सम्म त्यस्तो के गर्नुभयो र तपाईलाई मान्छेहरुले डन भने ? 

मलाई यो लाग्दैन कि मैैंले आत्मा ग्लानी हुने गरी त्यस्तो गल्ति गरेको छु । म यो दावाका साथ भन्छु हो, मलाई कसैले पिटे होला, मलाई पिट्न आएकाहरुको बिरुद्ध म उठें होला अनि मैले पनि पिटें होला । मैैंले कसैको आँसु झार्ने काम, कसैको दुई रुपिया लुट्ने काम, कसैको छोरी चेली बिगार्ने काम अथवा राष्ट्रमा आँच आउने काम गरिन । म दावाका साथ फेरी भन्छु मैंले देशद्रोहि हुने काम गरेको छैन । यदि कसैले त्यो प्रमाण ल्याउँछ भने म जुन सुकै सजाय भोग्न तयार छु । 

तपाईलाई थाहा छ, डन कस्तालाई भन्छन् ? डन भनेको चाहिँ के होला तपाईको विचारमा ? 

यो राज्य शत्तामा जसको हालिमुहाली चल्छ त्यहि हो डन । म अहिलेको अवस्थामा सुशील कोईरालालाई डन भन्छु । किनकी उहाँ प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सवै चिज चल्छ । उहाँलाई चाहिँ डन टाईटल दिन सुहाउँछ । यो भन्दा पहिला प्रचण्डजी हुनुहुन्थ्यो होला, त्यो भन्दा पहिला माधव नेपाल हुनुहुन्थ्यो होला । सवैकुरा गर्ने क्षमता उहाँहरुको हातमा हुन्छ । तव मात्र त्यसलाई डन भनिन्छ होला । म त आफुलाई एक आम साधारण नेपाली भन्न चाहान्छु । 

तपाईलाई थाहा छ डन चाहिँ कसरी जन्मिन्छन् ? 

एक त हाम्रो देश गरिवीको चपेटा र ठूलो भूमरीमा फसेको छ । अर्को बेरोजगारी र अशिक्षा छ । जव २०५२ सालमा नेकपा (माओवादी)ले जनयुद्धको थालनी गरेपछि जसरी युवाहरुको लर्को रातारात त्यहाँ प्रबेश गर्यो नी त्यो पनि एउटा उदाहरण हो । आज तपाई शिक्षित हुनुहुन्छ, रोजगार हुनुहुन्छ, तपाईलाई सबै कुरा पुगेको छ भने तपाईलाई यस प्रकारका गलत बाटोमा लग्ने समय हुँदैन । दुइचार अक्षर पढेको मान्छे, यदि रोजगार छ भने त्यसलाई जवर्जस्ती कसैले माईन्ड डाईभर्ट गर्न सक्दैन । 

आज हाम्रो देशमा ठूलो संख्यामा युवाहरु वेरोजगार छन् त्यसको जिम्मा नेताहरुले लिने कि नलिने ? गरीव छन्, अशिक्षित छन्, तर ती युवा साथीहरुलाई सरकारले केहि गर्ने कि नगर्ने ? 

ती युवाहरु गलत प्रकारले प्रयोग भैरहेका छन्, चाहे त्यो राजनीतिक आवरण होस् वा अन्य आवरणमा । जान्ने सुन्ने मान्छेहरुले यी युवाहरुलाई गलत तरिकाले प्रयोग गरिरहेका छन् । यस्तै यस्तै कारणले गर्दा ती युवाहरु गलत कार्यमा लाग्न प्रोत्साहित भईरहेका छन् । युवाहरुलाई बिभिन्न दलले चुनावमा बुथ लुट्न, ढुंगा हान्न, मास जुटाउन प्रयोग र प्रोत्साहन गर्ने अनि आफु पदमा पुगिसकेपछि ती युवाहरुलाइ आफुले सकेको रोजगारी दिनुको सट्टा, राम्रो बाटो देखाउनुको सट्टा उल्टै गलत आरोप लगाउने जस्ता प्रबृत्ति पनि त बढेको छ नि । 

डनहरुको नाता–सम्वन्ध शक्ति र पहुचमा भएका हरु संग हुन्छ भन्छन् । तपाईलाई चाहिं त्यस्तो लाग्छ कि लाछ ? 

मलाई त्यस्तो लाग्दैन । सवै मान्छेले एक समयमा पेटको लागि संघर्ष गर्छन् । पेट अघाए पछि सेवाको भावना जाग्छ । त्यो सेवाको भावना जागिसकेपछि अहो, मलाई त अहिले खान पुग्यो अव देश र जनताको लागि केहि गरौैँ भन्ने भावना आएपछि कहिँ न कहिँ त लाग्नै प¥र्यौ । कोहि न कोहि त समाउनै परिहाल्यो । ती कुराहरुलाई देखेर अहिले तपाईले गर्नुभएको प्रस्न त्यसरी नैं जोड्न खाजेको होला । तपाई आफैंले पनि देखिहाल्नु भयो नि कसैको संरक्षणमा लुकेको मन्छे होस् वा बहालवाला मन्त्री नैं किन नहोस् जेल गएको रेकर्ड छ नि नेपालमा । त्यसैले गल्ति गरेपछि कानूनभन्दा माथि कोहि पनि छैन भन्ने कुरा मैले बुझेको छु । 

तपाईको कारणले आज सम्म कुनै पनि मानिसले दुःख, डर, धम्कि खेप्नु परेको छ कि छैन ? 

म अहिले सम्म पाप र धर्मलाई साक्षि राख्दै अगाडी बढेको मान्छे । के गर्दा पाप लाग्छ, के गर्दा धर्म हुन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु । हिजो पनि म एउटा युवा मात्र रहँदा पनि मलाई कसैले सिकाएको होइन । मैले चाहे शिक्षाको क्षेत्रमा होस्, चाहे ती कुनै विकाश निर्माणको क्षेत्रमा होस्, चाहे व्यापार र रोजागारीको क्षेत्रमा होस् म दावाका साथ भन्छु,– होला मैले लोकसेवामा नाम निकाल्न सकिन होला प्रहरीमा सकिन होला तर मैंले रेष्टुरेन्टदेखि लिएर अन्य सेक्टरमा आफुले सकेको ठाउँमा मैले तीन हजार पैतिससयदभल्दा बढी युवाहरुलाइ रोजगारीको अवसर दिइरहेको छु । मैैंले युवाहरुलाई सधैं भन्ने गर्छु काम गरेर खानु पर्छ । सवैलाई काम गरेर खानुपर्छ भन्ने सन्देश दिने गरेको छु । मैले यी सवै कुरा बुझेको जानेको, दुई चार अक्षर पढेको, घुमेको मान्छेले यस्ता कुरा कल्पना पनि गर्न सक्दिन । यदि भोको छु, मैले अगाडी खानेकुरा देखिरहेको छु भने म चोरेर खान्छु होला । मलाई भगवानको कृपाले दुई हात मुख जोर्न राम्रै तरिकाले दिएको छ भने मैंले जानि जानि कहाँ गल्ति गर्छु र ? चोरे, ढाँटे, मान्छे पिटे सजाय हुन्छ भन्ने जान्दा जान्दै कसैले अपराध गर्छ होला ? 

भनेपछि तपाईका कारण कोहि त्रसित छैनन्, कोहि ठगिएका छैनन् ? 

छैनन्, छैनन् । म दावाका साथ भन्छु त्यस्ता साथीहरु कसैले मेरो नाम गलत रुपमा प्रयोग गर्नुभएको छ भने मलाई थाहा भएन । म भगवान होईन, मलाई त्यस्तो थाहा हुदैन । झापाको कुनै एउटा कुनामा कसैले तँलाई गणेश लामा ल्याएर पिटाउँछु भन्यो भने मैले कसरी थाहा पाउने ? त्यसैगरी कैलाली, कञ्चनपुरमा मेरो नाम लिएर कसैले कसैलाई धम्क्याउने , थर्काउने गर्छ भने मैले कसरी जान्ने ? यी थर्किन बाध्य बनाउनेहरु पनि त मिडिया नैं हो नि त । म त्यो चिज होईन बाबा भनेर मैले पटक पटक तपाईहरुसंग भनिरहेको छु । यदि म त्यो चिज भएको हो भने त मैैंले झापा फोन गरेपनि थर्किने भो, कैलाली फोन गरेपनि थर्किने भो । म त्यो चिजलाई नैं स्वीकार्न तयार छैन, म त्यस्तो होइन बाबा, आम साधारण नेपाली नागरिक हुँ, साधारण भएर बाँच्न चाहन्छु, मलाई त्यसरी नहेर्दिनुहोस् भनेर मैले पटक पटक आग्रह गर्दे आएको मान्छे मैले कसरी त्यस्तो गर्न सक्छु त ? 

तपाईले के कस्ता व्यवसायहरु सञ्चालन गरिरहनु भएको छ ? तपाई के काम गर्नुहुन्छ ? 

अहिले टुरिज्म फिल्डमा छु । मैले हिजोको दिनमा रेष्टुरेण्ट ब्यबसाय पनि गरें होला, मैंले क्रसर आदिको काम पनि गरें होला । यसैगरी मैले सानोतिनो ब्यबसाय गरेरै आएको छु । म बिगत ५, ७ वर्षदेखि सक्रिय राजनीतिमा भैरहँदा खेरी म यो मिडियामार्फत के भन्छु भने , म यो देशको परिवर्तनको लागि, देशको उन्नती र प्रगतीको लागि समाजसेवा वा राजनीतीमै भएपनि बाँच्नका लागि पेशा गर्दे आएको छु । राजनीतिलाई चाहिँ सेवाको रुपले मात्र लिनुपर्यो । मेरो मन्यता यहि हो । यहि अन्तर्गत मैंले दुवै चिजलाई संगसंगै लिएर हिँडेको छु । मैंले आफ्ना बालबच्चा पाल्नको लागि ब्यापार गरेको छु भने राजनीतिलाई चाहिं सेवाको रुपले लिएर अगाडी बढिरहेको छु ।  

तपाई आफुलाई सामान्य मान्छे हुँ भनिरहनु भएको छ, तर तपाईलाई यत्ति धेरै ब्यापार गर्ने श्रोत चाहिं के हो त ? कसरी तपाई करोडौंको मालिक हुनुभयो त ? 

तपाई राम्रोसँग काम गर्नुहुन्छ, तपाईसँग, क्षमता छ, भिजन छ र तपाईसँग राम्रो टिम छ भने देशमा बिभिन्न बैंक,बित्तिय संस्थाहरु छन तिनले ऋण दिहाल्छन नि । अहिलेपनि मेरो धेरै ऋण छ । अहिले पनि मलाई ऋणको तनाव हुन्छ । महिना महिनामा बैंकको लोन तिर्नुपर्छ । राम्रो भिजन भयो, राम्रो टिम भयो भने काम गर्नलाई त त्यत्ति गाहे नैं छैन । 

तपाई कामबाटै करोडपति बन्नुभयो त ? 

कामबाटै हो । यो देशमा २,४ जनालाई रोजगारी दिएर राज्यले बनाएको नीतिमा छिरेर ट्याक्स तिरेर करोडपति बनेको हो । 

डन भनिएका मानिसहरु भटाभट मारिएका छन्, तपाईंलाई कस्तो लागेको छ ?तपाइको प्रतिक्रिया के छ ? 

यो देशमा प्रचलित कानून छ । जसले जस्तो किसिमको गलत काम गर्छ उसलाई कानून अनुसार सजायको भागिदार बनाउनु पर्छ । गल्ति पिच्छे मान्छे मार्दै जाने हो भने यो देशमा बाँच्ने चाहिँ को त ? कोहि न कोहिले केहि न केहि गल्ति त गरेकै हुन्छ । मान्छे मार्नु समस्याको समाधान होईन । पोहोर साल चारी मारिए, यसपालि घैंटे मारिए । 

तपाई उनीहरुलाई चिन्नुहुन्छ ? 

उहाँहरुसँग मेरो नजिकको सम्वन्ध होइन । मैंले मिडियामार्फत उहाँहरुलाई चिनेको, देखेको र मारिएको खवर थाहा पाएको हो । मेरो नजिकको रिलेशन चाहिँ होइन । उनीहरु किन मारिएका होलान् ? प्रहरीले उहाँहरुलाई मार्यो । उहाँहरुलाई लागेको अरोप के हो ? त्यो प्रहरी, वा अन्य कुन निकायले हेर्ने गर्छ ? त्यो मलाई थाहा छैन । उहाँहरुले कसैलाई पिट्नु भएको हो भने उहाँहरुलाई कारबाही गर्ने ठाउँ त छ नी । उहाँले लुट्नु भएको हो भने त्यहि अनुसारको मुद्धा लगाउने ठाउँ र निकाय पनि त छ नी । मलाई थाहा भएन उहाँले कुनै देशद्रेहीको काम पो गर्नु भयो कि । उहाँहरुले के गल्ती गर्नुभयो र मार्नु पर्ने अवस्था आयो, कानुनी दायरामा ल्याएर सँजाया नदिएर मार्नै पर्ने कारण के थियो,त्यो जान्ने अधिकार जनतालाई छैन ? यो देशमा मार्ने कानून छ जस्तो लाग्दैन । उहाँहरुलाई किन मारियो मैले यसै भन्न सक्ने अवस्था छैन । 

घैंटे, चरी मारिएपछि गणेश लामा पनि डन हो, अव उसको पालो भन्ने चर्चा चल्न थालेको छ । तपाईलाई डर लाग्छ कि लाग्दैन ? 

मलाई डर छैन । मैले त्यस्तो कुनै गल्ति गरेको छैन । मलाई कुनै प्रकारको डर धम्की केहि पनि आएको छैन । म एउटा साधारण मान्छे । म जाहाँ खान्थेँ, जहाँ बस्थेँ त्यहि बसेको छु । म राजनीतिमा सक्रिय छु । जसरी अहिले मधेसका बिभिन्न जिल्लाहरुमा आन्दोलन चलिरहेको छ दिनहुँ जस्तो पार्टीमा अहिले वैठक भैरहेको छ । अवको रणनीति कसरी बनाउने, आदिवासी, मधेसी, जनजाती, पिछडीएको बर्गको आवाजलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने हिसावले हाम्रा केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदार दिनानूदिन चार दलको बैठकमा सम्वाद गरिरहनु भएको छ भने हामी केन्द्रीय लेभलका नेताहरु पनि पार्टी कार्यालयमा बसेर पार्टी कार्यक्रमहरुलाई कसरी अगाडी बढाउने भनेर काम गरिरहेका छौँ । म पनि त्यहि अनुसार काम गरिरहेको छु । 

मान्छेहरु अव गणेश लामाको पालो भनिरहेका छन् त किन होला ? 

हाम्रो समाजमा कसैको उन्नती प्रगतीलाई देखि नसक्ने खालका पनि छन् । कोहि अर्काको मृत्युमा रमाउने खालका छन् । अरु मर्दा हास्नेले आफ्नालाई मार्दा कस्तो हुन्छ त्यो पनि उनीहरुले मनन् गनर््पर्छ । आफुलाई सानो चोट लाग्दा पनि ठूलो चित्त दुखाई हुने, अर्काको छोराछोरी, अर्काको कोखमा लात मार्दा किन खुसी हुने ? म त के भन्छु भने घैंटेले मर्नु नैं पर्ने के गल्ति गरे ? उहाँको कुन पापले गर्दा मर्नु पर्यो ? उहाको मृत्युमा उहाकी छोरी टुहुरी बनिन् । उहाँकी श्रमतीले पनि पहिल्यै छोडेर गैसकेको भन्ने सुनेको छु । त्ये मेजर कुरा हो कि होइन ? 

तपाईका कारण कसैको अंगभंग हुने, ज्यान जाने भएको छ कि छैन ? 

छैन । कसैले मलाई पिट्दा मैले पनि २,४ थप्पड लगाएँ होला तर अंग भंग हुने र ज्यानैं जाने किसिमको घटना भएको छैन । मैंले उनीहरुलाई मारे पनि कानूनले मलाई छोड्दैन । उनीहरुले मलाई मारे पनि कनूनुले उनीहरुलाई छोड्दैन भन्ने कुरा मैले बुझेर र रिआलाईजेशन गरेर जून दिनदेखि म व्यापारमा आएँ, राजनीतिमा आएँ मलाई यसले साथ, प्रगति र राम्रो प्रतिफल दिएको छ । 

तपाईले आज सम्म कस्ता कस्ता मान्छेहरुलाई कस्तो प्रकारको सहयोग गर्नुभएको छ ? 

मैले बिगत १०,१२ वर्षदेखि काभ्रे लगायतका जिल्लाका पढ्ने ईच्छा भएका गरिव भाईबहिनीहरुलाई सहयोग गरेको छु । मैले काभ्रेलाई त कोटा नैं छ्ट्याएको छु । मैले हरेक बर्ष त्यहाँबाट ३ जनालई बिभिन्न कलेजमा स्कलरसिपको व्यबस्था गरेको छु । कुनै ठाउँमा स्वाश्थ्य शिबिर लगेर, कहिँ खेलकुदको माध्यमबाट, कुनै ठाउमा बिकास निर्माणको काम गरेर सहयोग गर्दे आएको छु । कहिँ १०, २० बोरा सिमेन्ट दिएर मैले निरन्तर रुपमा समाज सेवाको काम गर्दे आएको छु । मैंले यो काम मानव भएकाले आत्मसन्तुष्टिका लागि गरेको हुँ । न कि प्रचारको लागि । 

तपाईको सम्वन्ध नेता,पत्रकार, प्रहरीसँग कस्तो छ ? 

पत्रकार साथीहरु पनि हुनुहुन्छ, प्रहरी, आर्मी, राजनीति, व्यापारी सबैतिर सवै किसिमका साथीभाईहरु हुनुहु्न्छ । 

तपाईको जीवनको सपना चाहिं के छ ? 

पहिला भोको हुँदा पेट भर्ने आवश्यकता हुँदो रहेछ । पेट भरिसकेपछि पनि सन्तुष्टि हुँदो रहेनछ । जतिन्जेल बाँच्छु, राजनीति गरेर, सेवा गरेर मर्न पाईयोस भन्ने छ । म त्यहि गर्दै आएको पनि छु । जति पैसा भएपनि मान्छेलाई नपुग्दो रहेछ । म सामान्य जीवन नै बिताउनु चाह्न्छु । 

तपाई्रको रुचि, शोख के छ ? 

मेरो यो चाहिँ शोख छ भन्ने छैन । मलाई एक्सरसाईज गर्न मन पर्छ । म एक्सरराईज गर्दा रमाउँछु । कोहि डिङ्गस गर्दा रमाउलान् तर मलाई त्यो शोख छैन । दैनिक बिहान १,२ घण्टा एक्सरराईज गर्छु त्यहि नैं रमाईलो छ । त्यसपछि राजनीति, व्यापार, समाजसेवा आदिका फोन आउन थाल्छन् बिजि भईन्छ । 

ब्रत बस्नुहुन्छ ? धर्म मान्नुहुन्छ ? 

हरेक बिहिबार बस्छु । म हिन्दू, बौद्ध दुवै धर्म मान्छु । 

अरुहरुले डन, गुन्डा भनेर उपनाम दिंदा तपाईको परिवारले के भन्छ ? 

पोल्छ नी । आज भन्दा ४,५ बर्ष पहिले त राष्ट्रिय मिडियाहरुमा यो डन हो भनेर फोटोसहित समाचार आउँथे । अहिले मेरो छोरो ८ मा पढ्छ । एउटी छोरी छिन् । त्यतिबेला मेरो छोराले बाबा तपाईको फोटो आएछ भनि पत्रिका देखायो । मलाई कस्तो भयो होला भन्नुस त ? कसैले पनि आफ्नो मानिस चोर गुन्डा फटाहा भएको मन पराउदैन । म चाहान्छ् सवै नेपाली जनताको राम्रो होस् । हिजो कसैले कच्चा उमेरमा गरेको गल्तिलाई लिएर आज पनि तनाव दिईरहनु हुदैन । 

राजनीतिमा लागेर भोलि मन्त्री बन्ने सपना देख्नु भएको होला नी, छैन ? 

मैले काम गर्दे जाने हो त्यसको प्रतिफल यो नैं हुनुपर्छ भनेर अहिले नै सोचेको छैन । राजनीति गर्दै जाँदा भोलि आउने अवसरलाई ग्रहण गर्ने कुरा एउटा हो । 

तपाईलाई देख्ने भेट्ने मान्छेहरु के भन्छन ? 

मान्छेले मलाई जे ठानेर भेट्न आउने गर्छन् उनीहरुले मलाई भेटिसकेपछि आकाश जमिनको फरक पाउने गर्छन् । म कसैसंग खस्रो बोल्दिन, नम्र भएर सम्मानपूर्वक बोलि व्यबहार गर्ने मेरो बानि छ । तपाईको राम्रो पक्ष के हो ? म सकारात्म सोच्छु । कहिले काहिँ रिस पनि उठ्छ तर म संयमित हुन्छु । कसैलाई डोमिनेट गरेको, गरिवलाई हेपेको मलाई मन पर्देन । 

प्रस्तुति- नारायण तिवारी
श्रोत : ई-प्रोफाइल डट एसिया





प्रतिक्रिया दिनुहोस्...