१२ वर्षअघि दोरम्बामा यसरी बनाइएको थियो २१ माओवादी कार्यकर्ताको एकैचिहान
- नारायण श्रेष्ठ/सुमित श्रेष्ठ
यस्तैमा रामेछापको दोरम्बामा माओवादी कार्यकर्ताहरु आन्तरिक पार्टी संगठन सुदृढिकरणका लागि खटिरहेका थिए । १२ वर्षअघि आजकै दिन रामेछापको दोरम्वा बजारभन्दा केही तल स्थानीय शिक्षक युवराज मोक्तानको घरमा आन्तरिक छलफल तय गरिएको थियो, माओवादी कार्यकर्ताबीच । ‘
माओवादी कार्यकर्ता आन्तरिक छलफलमा जुटिरहेका बेला मन्थलीबाट मेजर राममणि पोखरेलको नेतृत्वमा लगभग ८० जना सेनाको टोली दोरम्बा आइपुग्यो । दोरम्बा आइपुगेको त्यो टोली कतै लागेन, सोझै युवराजको घरतर्फ सोझियो, जहाँ माओवादी कार्यकर्ताहरु आन्तरिक योजना बनाउँदै थिए ।
युद्धको आफ्नै नियम हुन्छ । युद्ध मैदानमै ती नियम लागू हुन्छन् । तर, युद्धको नियम मान्नु त परको कुरा निशस्त्र अवस्थामा रहेका माओवादी कार्यकर्ताहरुलाई शिकार गर्ने योजनासहित दोरम्बा पुगेको सेनाले निशस्त्र अवस्थामा रहेको माओवादी कार्यकर्तामाथि आक्रमण गर्न पूरै घर घेरा हाल्यो । केही माओवादी कार्यकर्ता सैनिकका घेराबाट उम्कन सफल भए । बाँकीलाई सेनाले नियन्त्रणमा लियो, जसमध्ये सबै माओवादी कार्यकर्ता थिएनन् ।
नियन्त्रणमा लिइएकाहरुलाई सेनाले अनुसन्धान तथा सोधपुछ गरेर, बरु सबैलाई पछाडिबाट डोरीले बाँधेर यातना दिँदै सैलुङको बाटोतर्फ लगे । डाँडाकटेरी भन्ने स्थानमा पुगेपछि सुनसान भिरालो बाटोमा हतियार विहीन १९ जनालाई गोली हानेर मारियो । हत्या गरिएकाहरुलाई यातनापछि निधार नजिकैबाट गोली हानिएको अनुसन्धानबाट खुलेको थियो । हत्या गरेर सेनाले शवलाई भिरमा फ्याँकिदिएका थिए ।
दोरम्बा हत्याकाण्ड भएको १२ वर्ष पूरा भए पनि दोषीमाथि अझै कारबाही भएको छैन । दोषीमाथि कारबाहीको साटो उन्मुक्ति दिइएको भन्दै पीडितपरिवारले आक्रोस पोखेका छन् ।
