अमेरिका पठाउँछु भन्दै ठगी गर्ने महर पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुर्खेत छिन्चु घर भई काठमाडौंको बालाजु बस्ने भागचन्द्र महरलाई पक्राउ गरेको हो ।
उनले टेकुमा सेन्ट्रल इन्भेटिगेशन सेक्युरिटी फोर्स फोर्स नामक कार्यालय खोलेका छन्, जस उच्च पदस्थ व्यक्तिसँग खिचिएका फोटोहरु राखिएको छ ।
महरले उच्च पदस्त व्यक्तिहरुसँग आफ्नो राम्रो सम्वन्ध रहेकाले अमेरिका पठाउने भन्दै प्रतिव्यक्ति १५ लाखसम्म लिँदै आएको अनुसन्धानबाट खुलेको छ । अमेरिका जान भन्दै म्याग्दीका राजेश रोका, थमनबहादुर रोका र दिपिल बुढाथोकीले ४५ लाख रुपैयाँ बुझाएका थिए ।
तर, रकम लिएपछि कुनै चासो नदिएको र पठाउन सकिँन, पैसा फिर्ता लैजानुस् भन्दै चेक दिएका थिए । तर, बैंकमा जाँदा खातामा रकम नभएको पाएपछि पीडितहरु प्रहरी कहाँ पुगेका थिए ।
अपराध महाशाखाको टोलीले महरलाई टेकुबाट पक्राउ गरेको छ । साथै कार्यालय खानतलासी गर्दा नेपाल र भारतका उच्च पदस्थ व्यक्तिहरुसँग खिचाएको तस्वीरहरु, नगद १ लाख ९८ हजार, पीडितहरुको पासपोर्ट एवं अन्य कागजातहरु समेत बरामद भएको छ ।
सिन्धुली ककुर ३ का सोमबहादुर तामाङलाई रसिया पठाई दिन्छु भनेर ३ लाख रुपैयाँ लिएको खुल्न आएको छ ।
भागचन्द्र महरले अरुलाई पनि ठगी गरेको हुन सक्ने भन्दै महाशाखाले सम्पर्कमा आउन आग्रह गरेको छ ।