मैयादेवीले दान गरिन्- आठ करोडको जग्गा र २ करोड नगद


मैयादेवी श्रेष्ठ मैयादेवी श्रेष्ठ
चितवन–दानका लागि ख्याती कमाएकी मैयादेवी श्रेष्ठले आफ्नो नाममा ट्रष्ट स्थापना गरी लगभग आठ करोड रुपैयाँ मूल्यको घर जग्गा र नगद दुई करोड रुपैयाँ दान गरेकी छन्। शिक्षा मन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यमा बुधबार भएको कार्यक्रममा उनले दुई करोड रुपैयाँको चेक र जग्गाको लालपुर्जा तथा घरको साँचो ट्रस्टलाई हस्तान्तरण गरेकी हुन्।भरतपुर उप महानगरपालिका वडा नं. ३ पुतली बजार जस्तो व्यस्त क्षेत्रको चोकमा रहेको २२२ वर्ग मिटरको जग्गामा बनेको तीन तले घर श्रेष्ठले गत वर्षको साउन चार गते नै ट्रष्टको नाममा पास गरिदिएकी दिएकी थिइन्। गत वर्ष बैशाख १९ मा दर्ता भएको ट्रष्टमा १९ जना सदस्य रहेका छन्। ट्रष्ट मार्फत समाजसेवाका विभिन्न कार्यक्रम गर्ने लक्ष्य रहेको छ।दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको हित रक्षा गर्दै उनीहरुलाई सशक्तीकरण गर्ने ट्रष्टको मुख्य लक्ष्य रहेको छ’ हस्तान्तरण कार्यक्रममा ट्रष्टका महासचिव टंकनाथ पौडेलले भने। ८७ वर्षीय श्रेष्ठ अविवाहित हुन्। विस २००३ सालमा तत्कालिन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी उनी प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्य पनि भएकी थिइन् ।
mayadevi
दुई करोडको चेक हस्तान्तरण गर्दै मायादेवी (दाया)। तस्विरः रमेशकुमार
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका लागि समेत उनैले जग्गा दान गरेकी थिइन्। नेपाली कांग्रेसको केन्द्र, चितवन जिल्ला र वडा कार्यालयहरुका लागि समेत गरेर छ करोड ५० लाख रुपैयाँ बराबरको जग्गा दान गरेको ट्रष्टले जानकारी दिएको छ। त्यस्तै ट्रष्ट स्थापनाअघि पनि सामाजिक तथा धार्मिक संघसंस्था, पाटीपौवा र धर्मशालाका लागि पनि १२ करोड रुपैयाँ बराबर दान दिएकी थिइन्।
भरतपुरमा रहेको मैयादेवी कन्या कलेजका लागि जग्गा किन्न र भवन बनाउन उनले १० करोड रुपैयाँ सहयोग गरेको ट्रष्टका महासचिव टंकनाथ पौडेलले जानकारी दिए । त्यस्तै विभिन्न व्यक्तिहरुलाई समेत उनले ३३ करोड ५७ लाख रुपैयाँ बराबरको भूमि दान गरेको उनले बताए। यसअघि विस २०५४ सालमा देवघाटमा सुविधा सम्पन्न ओम शान्ति मैयाँदेवि ट्रष्ट स्थापना भएको थियो।विभिन्न रोगहरुका कारण अस्वस्थ देखिएकी मैयादेवी श्रेष्ठले हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भनिन् ‘मसँग जे थियो त्यो ईश्वरको हो। त्यसैले यसमा सबैको हक लाग्छ। मर्दा सँगै लिएर जान नमिल्ने सम्पतिको किन अभिमान गर्नु। त्यसैले लोक कल्याण हुने काममा लगाउने निश्चय गरेकी हुँ।’





प्रतिक्रिया दिनुहोस्...