दोस्रो दिनमै ‘भैरव’ को कमाई करोड नाघ्यो


ताजाखबर, काठमाण्डौ। पाँच बर्षपछि नेपाली चलचित्रक्षेत्रमा भैरव लिएर कमब्याक गरेका एक्शन नायक निखिल उप्रेतीले आफ्नो स्टार पावर देखाएका छन् । प्रदर्शनमा आएको पहिलो दिननै हाउसफुल गरेको भैरवले पहिलो दिनको तुलनामा दोस्रो दिन आक्रमक व्यापार गर्न सफल भएको छ ।

राजधानी भित्र र बाहिर सिनेमा घरहरुमा थेगिनसक्नुको दर्शकको भिडले पुन: एक पटक निखिललाई सफल नायकको दर्जा दिएको छ । ५ बर्षसम्म कुनै पनि चलचित्रमा अनुहार नदेखाएपछि उनको स्टार पावर काम नलाग्ने भन्दै धेरैले अनुमान गरिरहेको बेला चलचित्र भैरवले झण्डै इतिहास नै रच्न सफल भएको छ । देशमा संविधान निर्माणको बेलामा विभिन्न जिल्लाहरु बन्द भएपनि चलचित्र भैरवले प्रदर्शनमा आएको दोस्रो दिनमा नै करोड प्रवेश गरेको छ ।
bhairav-taja
पहिलो दिन मोफसलमा भैरवले ७ लाख ५० हजार र राजधानीमा २४ लाख ५८ हजार बराबरको कारोबार गरेको थियो । त्यस्तै चलचित्र वितरक कम्पनीले दिएको जानकारी अनुसार प्रदर्शनमा आएको दोस्रो दिन भैरवले मोफसलमा १६ लाख ५० हजार र राजधानीमा ५५ लाख ८८ हजार बराबरको व्यापार गरेको छ । काठमाडौंका वितरक गोपाल कायस्थका अनुसार चलचित्र भैरवले पहिलो दिनको तुलनामा दोस्रो दिन आक्रमक व्यापार गरेको जानकारी दिए । उनका अनुसार शनिबार ‘भैरव’ गोपीकृष्णका ३, गुण हलका ४ र अष्टनारायण हलका ३ वटै पर्दामा हाउसफूल भएको थियो । आईतबार पनि राजधानीमा विदा रहेकोले राजधानीको व्यापार आक्रामक हुने अनुमान गरिएको छ ।
चलचित्रका नायक निखिल उप्रेती र नायिका अनु शाह नै शुक्रबार र शनिबार राजधानीका विभिन्न हलहरुमा पुगी दर्शकहरुको प्रतिक्रिया लिन भ्याएका थिए । चलचित्रको एक्शन पाटोलाई दर्शकहरुले खुबै रुचाएका छन् । नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ ।
भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।






प्रतिक्रिया दिनुहोस्...