विवाह गरेको ४ महिनामा मलेसिया गएका गणेश काठको बाकसमा फर्किए .....
उजिर कार्की/उज्यालो । काठमाडौं, साउन २९ - पन्ध्र दिनअघि पाल्पा रामपुर १० की सुनिता श्रेष्ठको मोबाइलमा घन्टी बज्यो । पहिलो घन्टी बज्नासाथ सुनिताको आँखा मोबाइलको स्क्रिनमा गयो । कल मेलसियामा रहेका श्रीमान गणेशको मोबाइलबाट आएको थियो ।
फोन गर्नेले सोधे ‘तपाईं गणेशकी श्रीमती हो ?’
‘हजुर हो, तपाईं को बोल्नु भएको छ ?’
सुनिताले सोध लगत्तै फोन गर्नेले भने ‘गणेश त रहेनन् ।’ फोनमा यति सुन्ने वित्तिकै सुनिता रुन थाल्नु भयो । सँगै रहेकी सासु इश्वरीको मनमा चिसो पस्यो बुहारी किन रोई ?
बुहारीले फोनमा भएको वार्तालाप सुनाएपछि सासुका खुट्टा लगलग कामे । उहाँ उभिएकै ठाउँमा थचक्क बस्नु भयो र रुँदा रुर्दै मुर्छा पर्नुभयो । इश्वरी र सुनिताका एक मात्र सहारा २२ वर्षका गणेश मलेसियामा वितेको खवरसँगै उहाँहरुको खुसी सदाका लागि सकियो । ईश्वरीले श्रीमान गुमाएको चार वर्ष बित्न नपाउँदै छोरोपनि गुमाउनु पर्यो । विवाह गरेको चार महिनामै छाडेर मलेसिया गएका श्रीमान पनि वितेपछि सुनिताले पतिको मायाको राम्रोसँग अनुभव नै गर्न नपाई विधवा बन्नु पर्यो । गणेशको निधनसँगै रामपुरको यो परिवार शोकमा डुवेको छ ।
श्रीमानको निधनपछि ईश्वरीको साहारा भन्नु नै दुई जना छोराछोरी थिए । विवाह भएपछि छोरी पनि पराई घरमा गईन् । ईश्वरी श्रेष्ठ श्रीमानको मृत्युपछि एक्लो छोरो गणेशको मुख हेरेर बाँचिरहनु भएको थियो ।
श्रीमानले छाडेर गएपनि ईश्वरीलाई छोरा गणेशको साहारा थियो । ईश्वरीको बाँकी जिवनको आशा नै गणेश हुनुहुन्थ्यो । छोरीको विवाहपछि सुनसान जस्तै बनेको परिवारमा गणेशको विवाहपछि पुन रौनक फर्किएको थियो । गणेश २० वर्ष पुगेपछि सुनिता यो घरमा बुहारी बनेर आउनु भएको थियो ।
घरमा आमाको हेरचाह गर्ने बुहारी भएपछि गणेशले पनि मलेसिया जाने निर्णय गर्नुभयो । आर्थिक स्थिति ठिकै भएपनि सँगैका साथी संगी विदेश उडेपछि गणेशलाई पनि त्यो लहरले छोयो । आमा इश्वरी र श्रीमती सुनिताको आग्रह विपरित गणेश नेपालमा पढेर पनि केहि गर्न सकिने हैन भन्दै परदेश लाग्नुभयो ।
विवाह गरेको चार महिनामै आमा र श्रीमतीलाई छाडेर गणेश मलेसिया जानुभयो । गणेश परेदेश लागेपछि सासु वुहारीले जसोतसो घरपरिवार धान्नु भएको थियो । दुवैको ज्यान यहाँ भएपनि मन भने गणेशसँगै मलेसियामै हुन्थ्यो । छोरासँग बोल्न नपाउँदा ईश्वरीलाई निक्कै छटपटि हुन्थ्यो । फोन आउन एकदिन ढिलो हुँदा पनि ईश्वरी बुहारी सुनितालाई मिसकल गर्न भन्नुहुन्थ्यो । मिसकल गर्नासाथ गणेश फोन गर्नुहुन्थ्यो । गणेश मोवाइल कम्पनीमा काम गर्नुहुन्थ्यो । काम र कमाई पनि ठिकै थियो । वेलावेला खर्चपनि पठाईरहनु भएकै थियो । गणेश मलेसिया गएको १४ महिना पुग्दासम्म यो परिवार यसरी नै चलिरहेको थियो । तर १५ दिन अघि यो परिवारको खुसी सदाका लागि अन्त्य भयो ।
शुक्रबार नेपाल आइपुगेको शव बुझ्न विमानस्थल पुगेका गणेशका फुपाजु ओमप्रसाद श्रेष्ठ र केहि आफन्त निक्कै चिन्तित थिए । विमानस्थलमा ट्रलीबाट शवको बाकस गाडीमा हाल्दै ओमप्रसादले सहयोगीसँग भन्नुभयो ‘यसलाई रामपुर पुर्याएपछि इश्वरी र सुनितालाई कसरी सम्झाउने ?’
२२ वर्षिय श्रेष्ठको पाँच तलामाथिबाट लडेर ज्यान गएको भनेपनि ओमप्रसादलाई यसमा शंका छ । नेपाली प्रवासी एकता सञ्जालको सहयोगमा नेपाल ल्याईएको शव बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको सहयोगमा शुक्रबार नै पाल्पा लगिएको छ ।
आफ्नो कथा, तस्वीर र भिडियोहरु पठाउनुहोस्
तपाई कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा बिदेशमा काम गरी फर्किनु भएको हो भने तपाईको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईले आफ्नो तस्वीर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईले खिचेका सुन्दर र रोचक तस्वीरहरु तथा भिडियो पनि desh@unn.com.np मा ईमेल गर्नुहोला । तस्वीर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाई बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्वीर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । यसैगरी फेसबुक पेज मा गएर उज्यालोको आधिकारीक फेसबुक पेजमा पनि तपाईले आफ्ना कुरा लेख्न सक्नुहुन्छ source taj khabar


