मुख्यमन्त्री बने जस्तो संकुचित सोच राख्नाले संघीयतामा बखेडा : मन्त्री पण्डित
काठमाडौं, भदौ २ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान निर्माणको विषयमा नेताहरुले राष्ट्रिय सोच राख्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय पार्टीकै नेताहरुले आफू मुख्यमन्त्री बन्ने जस्तो संकुचित र क्षेत्रीय सोच राख्नाले संघीयतामा बखेडा उत्पन्न भैरहेको तर्क गरे ।
कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले सरकारको आयु लम्ब्याउन चाहने तर संविधान बनाउन नचाहनेहरुले संघीयताको नाममा जनता भिडाएको आरोप लगाए । कर्णाली, थारुवान र मगरात क्षेत्रको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सद्भावना पार्टीका नेता अनिलकुमार झाले संघीयतामा जाने हो भने अधिकार पनि त्यसैअनुरुपको हुनुपर्ने बताए ।