प्रहरीको गोली लागेर तीनको मृत्यु


Surkhet-Protest-2
२५ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।
अखण्ड मध्यपश्चिमको माग गर्दै आहृवान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त छ । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालयमा तोडफोड तथा अगजनी गर्न थालेपछि तनाव सुरु भएको थियो ।
स्थानीय प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यू लगाएपछि झडपका घटना रोकिएको छैन । हातमा लाठी लिएका तोडफोडमा उत्रिएका प्रदर्शनकारीहरुले कांग्रेस, एमाओवादी र फोरम लोकतान्त्रिकको पार्टी कार्यालयका साथै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको गोठमा आगजनी गरेका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय र एमाले कार्यालयमा पनि तोडफोड गरेका छन् । शान्तिपूर्ण आन्दोलन एकाएक अनियन्त्रित र हिंसात्मक भएपछि घुसपेठ भएको स्थानीय प्रशासन र दलहरुको निष्कर्ष छ ।
प्रदर्शन हिंसात्मक भएपछि धमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतमको मृत्यु भएको छ । उनको घाँटीमा गोली लागेको थियो ।
प्रहरीको गोली लागि दैलेख जगन्नाथ घरभई हाल वीरेन्द्रनगर इत्राम वस्ने बर्ष २४ का यामवहादुर विसीको ज्यान गएको छ । त्यसैगरी भागदौडको क्रममा वीरेन्द्रनगर-३ का ६६ बषिर्य गोपालसिंह रजवारको मंगलगढी चोकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौतमको पूर्वगृहमन्त्री तथा सभासद् पूर्णबहादुर खड्काको घर सुरक्षार्थ खटिएका प्रहरीको गोली प्रहारबाट ज्यान गएको हो । प्रहरीले उनको छाती र निदारमा गोली लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
विसीको भने सोमबार साँझ ५ बजे धमला चोकमा भएको प्रदर्शनको क्रममा घाँटीमा गोली लागेको थियो । उनको उपचारका क्रममा देउती अस्पतालमा ज्यान प्रहरी जनाएको छ ।
प्रहरीको गोली लागि १२ जना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् भने प्रहरी र प्रदर्शनकारी गरी दुवैतर्फ गरी करिव ५० जनाभन्दाबढी सामान्य घाइते भएको बताइएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका धादिङका रामबहादुर श्रेष्ठ, दैलेखका नरबहादुर पुरी र वीरेन्द्रनगरका अनिस पन्तलाई विमानबाट काठमाडौं ल्याइएको छ । श्रेष्ठ र पुरीको केएमसी अस्पतालमा र पन्तको शिक्षण अस्पताला उपचार भइरहेको छ ।
प्रहरीको गोली लागेर पत्रकार आईसीं रोकाय लगायतका घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको छ । उनी बुलबुले एफएममा कार्यरत छन् । रोकाय लगायतका घाइतेहरुलाई नेपालगन्जमा रिफर गरिएको महासंघ अध्यक्ष भारतीले बताए ।
purna-bdr-khadka-house
आन्दोलनकारीले कांग्रेस नेता खड्का घरमा राखिएको दुई वटा कार, तीन वटा मोटरसाइकल, दुई वटा बस र प्रहरी प्रमुखको भ्यानमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
 प्रर्दशनकारीले सभासद हृदयराम थानीको वीरेन्ऽनगरमा रहेको घरमा समेत ढुंगामुडा गरेका छन् । आगजनीको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि तीन सय सेल अश्रुग्याासका साथै गोली प्रहार गरेको थियो ।
समस्या समाधान गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाजसँग समन्वय गर्ने गरिएको र थप क्षति हुन नदिन नेपाली सेनालाई समेत परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।






प्रतिक्रिया दिनुहोस्...