वायु प्रदुषणले एक दिनमै ४ हजारको मृत्यु
वायु प्रदुषणका कारण चीनमा हरेक दिन ४ हजार जना मानिसको मृत्यु हुने गरेको एक अमेरिकी अध्ययनले देखाएको छ । चीनमा हुने यो मृत्यु विश्वमा हुने अकाल मृत्युको ६ भागको १ भाग हो ।
खासगरी प्रदुषित हावामा हुने विषाक्त पदार्थ तथा स-साना कणहरुका कारण मानिसलाई मुटु तथा स्वासप्रस्वास सम्बनिध समस्या उत्पन्न हुने गरेका छन् ।
शोधकर्ताका अनुसार विजुली तथा तापका लागि बालिने कोइलाबाट निस्कने धुवाँ तथा अन्य सुक्ष्म कणहरु वायुप्रदुषणका लागि सबैभन्दा बढि जिम्मेवार छन् ।
प्लसवन जर्नलमा छापिएको शेाध अनुसार सयमा ३८ जना चिनियाहरु दीर्घकालीन रुपमा प्रदुषित वायु भएको क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।
प्रमुख शोधकर्ता रोबर्ट रोडले वायुप्रदुषणबाट हुने मृत्युको यो संख्या निकै उच्च रहेको भन्दै दक्षिण पश्चिमी बेइजिङको अवस्था सबैभन्दा खराब रहेको बताएका छन् ।
स्मरण रहोस् वायुप्रदुषणबाट हुने मृत्युको मामिलामा अमेरिका पनि माथि नै छ । अमेरिकामा वायुप्रदुषणका कारण वर्षेनी ६३ हजार देखि ८८ हजार जनाको ज्यान जाने गरेको सन् २०१० को एक तथ्यांकले देखाएको छ । कतिपय तथ्यांकले भने यस्तो संख्या ३५ हजार देखि २ लाखको बीचमा रहेको दाबी गरेका छन् ।
चीनमा जाडो याममा वायुप्रदुषणको अवस्था झनै दर्दनाक हुने गरेको शोधकर्ताहरुले बताएका छन् । सन् २०२२ को शीतकालीन ओलम्पिक आयोजना गर्न लागेको चीनमा वायुप्रदुषणको उच्च दरप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । स्मरण रहोस् चीन विश्वमा सबैभन्दा बढि हरितगृह ग्यास उत्सर्जन गर्ने देश पनि हो । एजेन्सीको सहयोगमा