हलेसीमा भूकम्पले सुकेको पानी फेरि पलायो


फोटो :फाइल फोटो
खोटाङ : भूकम्पका कारण मुहान सुकेको खोटाङ्को तीर्थस्थल हलेसीमा लगातारको वर्षापछि पुनः पानी पलाएको छ ।

गत वैशाख १२ गतेको भूकम्पपछि एक्कासी सुकेको बसाहाथानदेखि उत्तरपट्टी रहेको मुहानमा पुनः पानी पलाएको हो ।

पानी पलाएपछि हलेसी आउने तीर्थालुलाई सहज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।

'पाँचवटा धारामा अटीनअटी आउने पानी भूकम्पपछि सुकेको थियो ' उनले भने, 'लगातारको वर्षापछि फेरि पलाएको छ, यसले तीर्थालुका साथै स्थानीयवासीलाई सहज भएको छ ।'

सुकेको मुहानमा पुनः पानी पलाएपछि स्थानीयवासी हर्षित छन् । हलेसी क्षेत्रमा बसोवास गर्ने तीनसय घर परिवारले उपभोग गर्ने उक्त पानीको मुहान सुकेपछि डेढ घण्टा टाढाबाट खोलाको पानी ल्याएर पिउन बाध्य थिए ।

नेपालकै एकमात्र त्रिधार्मिकस्थल हलेसीमा खानेपानीको दीर्घकालीन योजना बन्न नसक्दा यस्तो समस्या भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताए ।

यसको दीर्घकालीन समस्या समाधान गर्न प्राविधिक टोली खटाएर प्रतिवेदन तयार गर्ने काम थालिएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताए । रासस






प्रतिक्रिया दिनुहोस्...