जापानमा १८ नेपाली पक्राउ परेको खुलासा
टोकियो । जापानको तोयामा केनको न्युजेन शहरमा रहेको हाक्केन कम्पनी मार्फत होकुसेइ रवर कम्पनी र सोहि कम्पनीको नजिकै रहेको शाखामा (गाडीको सिट बनाउने) काम गर्दै आएका ५२ जना पक्राउ परेको खुलासा भएको छ ।
पक्राउ पर्नेमा ३२ जना भियतनामी, १८ जना नेपाली र २ जना जापानी नागरिक रहेका छन् । पक्राउ परेकाहरु औद्योगिक प्रशिक्षार्थी र विद्यार्थी भिषाका रहेतापनि कम्पनी र स्कुल छाडी वर्क परमिट बिनै काम गर्दै आएको बुझिएको छ ।नागोया इमिग्रेसन ब्युरोलाई उदृत गर्दै जापानमा रहेका नेपाली अनोज शाक्यले पक्राउ परेका मध्ये २ जना भियतनामीलाई अपराध सम्बन्धि मुद्दा दर्ता गरी प्रहरी चौकीमा लगिएको र कम्पनीका २ जापानी नागरिकलाई नियम विपरीत काममा लगाएको भन्दै प्रहरीले लगेको बताए ।
पक्राउ परेका जापानी नागरिकमा २२ वर्षीय एगुची र ३१ वर्षीया उवानो छिन् । पक्राउ परेका अन्यलाई भने इमिग्रेसन ब्युरोमा अनुसन्धानका लागि राखिएको छ ।
पक्राउ परेका २ जापानीले इमिग्रेसनको नियम आफूहरुले थाहा नपाएकाले भुल भएको भन्दै रिहा गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।
पक्राउ परेका अधिकांश औद्योगिक प्रशिक्षार्थी र विद्यार्थी भिसा भएकाहरु छन् । हाक्केन कम्पनी मार्फत काम गर्नेहरु जापानको विभिन्न सहरबाट तोयामा पुगेका थिए ।