सार्क शिखर सम्मेलनले राजधानीको मुहार परिवर्तन गरिदिने
२० असोज, काठमाडौं । आगामी मंसिरमा हुन गइरहेको सार्क शिखर सम्मेलनले राजधानीको मुहार परिवर्तन गरिदिने भएको छ । सार्क सम्मेलनलाई लक्षित गर्दै अहिले नेपाल विद्युत प्राधिकरणले राजधानी मुख्य क्षेत्रहरुमा ‘स्टि्र लाइट’ जडान कार्यलाई तिब्रता दिएको छ ।
एशियाली विकास बैंकको २५ लाख डलर अनुदान सहयोगमा काठमाडौं उपत्यकाका सडक तथा मन्दिर क्षेत्रमा ‘स्टि्रट लाइट’ जडान भइरहेको छ । जुन काम सन् २०१५ को मार्चसम्म सकिसक्ने लक्ष्य राखिएको छ ।
उपत्यकाकासडकमा सोलार प्यानलबाट सडकमा वत्ति राख्ने काम आर्थिक वर्ष २०६८/०६९ बाट सुरु भएको थियो । चिनियाँ कम्पनी हाइड्रो चाइनाले सडक वत्ति निर्माण कार्य गरिरहेको छ । सार्क सम्मेलन अगाडी नै राजधानीको मूख्य स्थानहरु पुरै झलमल हुने भएको छ ।
सार्क सम्मेलनलाई लक्षित गर्दै प्राधिकरणले राजधानीका मुख्य-मुख्य क्षेत्रहरुमा अक्टोबरको अन्त्यसम्म सडक वत्ती जडान गरिसक्ने गरि काम अगाडी बढाइएको सडक बत्ती सुधार आयोजनाका प्रमुख नुतनदेव भट्टराईले जानकारी दिए । सार्क सिखर सम्मेलनमा मंसिरमा काठमाडौंको राष्ट्रिय सभागृहमा हुँदैछ ।
कतिपय ठाउँहरुमा वत्ति बल्न सुरु भइसकेको छ भने कतिपय ठाउँमा निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहेको भट्टराईले बताए । उनका अनुसार टुँडिखेल वरीपरी र तीनकुने-माइतीघर सडक खण्डमा वत्ति बल्न सुरु भइसकेको छ ।
प्राधिकरणले पहिलो चरणमा विभिन्न ४ वटा रुट बनाएर सडकमा वत्ती राख्ने काम गरिरहेको छ । सरकारले चाँडै नै सडकमा वत्ती राख्ने काम सक्न निर्देशन दिएको हुँदा निर्धारित समयभित्र काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनीले काम गरिरहेको उनको भनाई छ ।
भट्टराईका अनुसार पशुपति क्षेत्र वरपर भर्खरै काम सुरु भएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, माइटिघर, सिंहदरबार, पर्दशनीमार्ग, राष्ट्रिय सभागृह, टुँडीखेल, रानीपोखरी पद्मोदय मोड, गौशाला, पशुपति, पाटन, भक्तपुर, ठिमी लगायत मूख्य मूख्य मन्दीर परिसरमा स्टि्र लाइट जडान गर्ने काम भइरहेको छ ।
पहिलो चरणमा निर्माण सम्पन्न गर्ने भनिएका यी स्थानहरुमा ९६० वटा वत्ति जडान गरिने भएको छ । पहिलो चरणको आयोजना सम्पन्न गर्न ६८ लाख युयान अर्थात १० करोड ८८ लाख रुपैयाँ लाग्ने भट्टराईले बताए ।
त्यसपछि २०१५ को मार्चसम्म सक्नेगरी दोस्रो चरणमा नारायणहिटी दरबार संग्राहलय वरिपरी, नक्साल, बालुवाटार र विष्णुमति रिंकरोडमा सडक बत्ती जडान गरिने भट्टराईले जानकारी दिए ।