धन कमाउन मलेसिया गएका युवाको मृत्युले परिवारमा बिचल्ली
खोटाङ, असोज १५– खोटाङको मौवाबोटे–५ दाप्साका ७३ वर्षका लालबहादुर राईलाई आशा थियो, बुढेसकालमा छोरोले हेर्ला, साहारा देला, बुढेसकालमा सुख र सन्तोषका साथ जीवन बिताउन पाइएला।
तर उहाँको सपना सपनामै सीमित भयो । आरामले बसेर खाने पाको उमेरमा लालबहादुर उल्टै तीन नाती र तीन नातिनिको एक्लो साहरा बन्नु परेको छ ।
तर उहाँको सपना सपनामै सीमित भयो । आरामले बसेर खाने पाको उमेरमा लालबहादुर उल्टै तीन नाती र तीन नातिनिको एक्लो साहरा बन्नु परेको छ ।
उमेरले डाँडामाथिको घाम बनिसकेका लालबहादुरलाई आफ्नो शेषपछि स–साना नाति नातिनीको भविष्य ‘पानीमा झोसेको अगुल्टो’ झैँ हुने चिन्ताले सताइरहेको छ । बुवा भीमकुमारको मलेसियामा मृत्यु भएको केही समयपछि आमा हिराले पनि दोश्रो बिहे गरेर छाडेर गएपछि बिचल्लिमा परेका १४ वर्षकी जुना, १२ वर्षका सुदिप, १० वर्षका सुनिल, ९ वर्षकी मुना, ८ वर्षका निलिख र ६ वर्षकी पुजना राई अहिले बृद्ध हजुरबा लालबहादुरको साहरामा बसिरहेका छन् । ‘मलेसिया पुगेका बुवालाई त हामीबाट दैवले चुँडेर लग्यो–लग्यो,’ जुनाले रुँदै भन्नुभयो, ‘घरकी आमाले पनि हामीलाई जिउँदै टुहुरो बनाएर जानुभयो ।’
कक्षा ७ सम्म मात्र अध्यायन गरेका भीमकुमारले विदेश जानुअघि गाउँमा रेडियो, घडी जस्ता विद्युतीय सामान मर्मतको काम गरेर परिवार चलाउँदै आउनु भएको थियो । तर दिनानुदिन घर परिवारको आर्थिक गर्जो सजिलै टार्न नसकिने अवस्था बन्दै गएपछि उहाँ मलेसिया जानु भएको थियो । ऋण गरेर तीन वर्षअघि मलेसिया गएका राईको सबै ऋण चुक्ता गरिनसक्दै मृत्यु भयो । उहाँ विदेश जाँदा लिएको केही ऋण तिरेपनि उत्ति नै ऋण तिर्न बाँकी नै छ । बीमाको रकम पनि अहिलेसम्म नपाएको राई परिवारको गुनासो छ ।
७ जनाकालागि घाम पानीमा ओत लाग्ने खरले छाएको एक तले सानो घर छ । थोरै जायजेथाबाट उत्पादन हुने अन्नले पाँच महिना पनि पुग्दैन । जुनाको हरेक दिन भाइ बहिनीको स्याहार सुसार गर्दै बित्छ । बृद्ध लालबहादुरको दैनिकी आफू र नाती नातिनीका लागि बिहान बेलुकाको छाकको जोहो गर्नकालागि सुरु र अन्त्य हुन्छ । साहरा बिहिन बनेको परिवारलाई अहिले साँझ बिहान चुल्होमा आगो बाल्न र एक छाक टार्नकालागि समस्या पर्न थालीसकेको स्थानीय प्रेमबहादुर राई बताउनुहुन्छ । घरकी जेठी भएको कारण अशक्त हजुरबा र भाइबहिनी हुर्काउने अभिभारा पनि जुनाकै काँधमा आएको छ । ‘बुवा नहुँदा आमाको मुख हेरेर दुःख पीडा भुलीरहेका थियौँ,’ मोजेत्रोको सप्कोले आँशु पुछ्दै जुनाले थप्नुभयो, ‘आमा र बुवा दुबै गुमाउँदाको पीडा कसलाई सुनाउ !’
अभिभावक बिहिन बनेकी जुनाले घरको समस्याका कारण कक्षा–८ को पढाई छाडीसक्नुभएको छ । एकैसाथ बुवाआमा गुमाएका उनका अन्य भाइ बहिनी समेत नियमित विद्यालय जान छाडेको स्थानीय शिद्वेश्वरी प्राविका प्रधानाध्यापक बासुदेव आचार्यले बताउनुभयो । रहर भएपनि घरको समस्याका कारण विद्यालय जान नपाएको जुनाको भनाई छ । ‘स्कुल जाने रहर छ, तर बाध्यताले जान पाएकी छैन,’ जुनाले भन्नुभयो, ‘कापी, कलम, पोशाक किन्ने पैसा नभएपछि भाइ बहिनीलाई पनि स्कुल पठाउन सकिएको छैन ।