वेश्यावृत्ति गराउने होटल सञ्चालकविरुद्ध मुद्दा



नेपालमा यौन व्यवसायलाई कानुनले मान्यता नदिए पनि अवैध रुपमा यो धन्दा दिन प्रतिदिन बढ्दो छ । राजधानीलगायत देशका विभिन्न शहरहरुमा होटल, रेष्टुरेन्ट तथा लजहरुमा यस्तो धन्दा चलिरहेको छ । पछिल्लो समय पूर्वी नेपालको मोरङमा बढ्दो वेश्यावृत्ति रोक्न प्रहरीले विशेष अभियान नै चलाएको छ ।
यसै क्रममा वेश्यावृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले मोरङस्थित होटल सञ्चालिकासहित तीनजनामाथि कानुनी कारबाही चलाएको छ ।
विराटनगर–१५ स्थित होटल आशिषबाट आपत्तिजनक अवस्थामा पक्राउ गरिएका दुहबी–९ का ३६ वर्षीय भोगेन्द्र अग्रवालसहित होटल सञ्चालिका विराटनगर–१६ की रमा दाहाल (कार्की) र एक किशोरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको हो ।
गत मङ्सिर १० गते राति आपत्तिजनक अवस्थामा सुनसरी इटहरीकी एक किशोरीसँगै पक्राउ परेका अग्रवालले पहिलेदेखि नै उक्त होटलमा युवती लिएर आउने गरेकाले सञ्चालिकासहितलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।
पक्राउ गरिएका किशोरीका आफन्तले चाहिँ झुक्याएर यौन शोषण गरेकाले अग्रवाललाई जबर्जस्ती करणीेको आरोपमा मुद्दा दर्ता गर्न दबाब दिँदै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्...