एउटै चलचित्र लगातार एक हजार हप्तासम्म प्रदर्शन


ओएस नेपाल, काठमाडौं,मंसिर २६ – एउटै चलचित्र लगातार एक हजार हप्तासम्म एउटै हलमा प्रदर्शन भयो भन्दा पत्याउन गाह्रो हुन्छ ।

नेपाली चलचित्र एक हप्ता पनि राम्रोसँग प्रदर्शन हुन नसकेको समाचार सुनिरहेका हाम्रा लागि एउटै चलचित्र एक हजार हप्तासम्म चल्यो भन्दा पत्याउन गाह्रो मात्रै होइन असम्भव नै लाग्न सक्छ । तर यो असम्भव कुरा सम्भव भएको छ । हिन्दी चलिचत्रमा रोमान्स र प्रेमको उदाहरण नै बनेको दिलवाले दुल्हनिया लेजाएगेंले शुक्रबार प्रदर्शनको एक हजार हप्ता पूरा गरेको छ ।यो चलचित्र मुम्बईको मराठा चलचित्र हलमा एक हजार हप्तादेखि प्रदर्शन हुँदै अएको छ । सन् १९९५ अक्टुबर २० मा पहिलो पटक प्रदर्शन भएयता मराठा चलचित्र हलमा दिलवाले दुल्हनिया लेजाएंगेलगातार प्रदर्शन भैरहेको छ । यसराज फिल्मसको व्यानरमा बनेको यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका थिए । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका थिए । बलिउडका किङ खान साहरुख खान र काजोल अभिनित यस चलचित्रले हिन्दी चलचित्रमा प्रेम र रोमान्सको पक्षलाई स्थापित गरेको थियो । यो चलचित्रले सन् १९९६ को फिल्म फेयर अवार्डमा १० विधामा अवार्ड जितेको थियो भने नेशनल अर्वाड पनि पाएको थियो । यो चलचित्र इन्डिया टाइम्सको हेर्नै पर्ने २५ चलचित्रको सूचीमा सूचिकृत छ । बेलायती लेखक स्टेभिन जे स्नाइडरले सम्पादन गरेको ‘१००१ मुभिज यु मस्ट सि बिफोर यु डाइ’ नाम पुस्तकमा पनि सूचिकृत भएको छ । यो पुस्तकमा मदर इन्डिया र दिलवाले दुल्हनिया लेजाएंगे गरि दुई वटा मात्रै हिन्दी चलचित्र सूचिकृत भएका छन् । यस्तै ब्रिटिस फिल्म इन्स्टिच्युटको जारी गरेको उत्कृष्ट हिन्दी चलचित्रको सूचीमा १२ औं स्थानमा पर्न सफल भएको छ । ४० करोड भारतीय रुपैयाँको लागतमा बनेको यस चलचित्रले समग्रमा एक सय ६ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो । लगातार एक हजार हप्ता प्रदर्शन भएको यो चलचित्र भारतीय चलचित्रको इतिहासमा सबैभन्दा लामो समय लगातार प्रदर्शन हुने चलचित्र हो । सन् १९७५ मा रिलिज भएको सोले पाँच वर्षसम्म लगातार चलेको थियो । विश्वमा सबैभन्दा लामो समय चल्ने चलचित्र भने हलिउडको द रक्की हरर शो हो । यो चलचित्र अमेरिकाको सिकागो शहरको एउटा हलमा सन् १९७५ देखि चलिरहेको छ ।(एजेन्सीको सहयोगमा)




प्रतिक्रिया दिनुहोस्...