दुई पैसा घट्यो यातायात भाडा
काठमाडौं: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधाको भाडादर समायोजनमा सरकारले उपभोक्ताको भावनामाथि खेडवाड गरेको छ। यातायात व्यवस्था विभागले मंगलबार सार्वजनिक गरेको नयाँ भाडादरअनुसार सार्वजनिक सवारीमा जम्मा दुई पैसामात्रै घटाइएको छ।
विभागले आइतबार कम्तीमा एक रुपैयाँ घटाउने जानकारी दिएको थियो। पटकपटक गरी पेट्रोलियम पदार्थको मूल्य लिटरमा १९ रुपैयाँ घटिसकेको छ।
मूल्य समायोजन गर्ने भनेर सरकारले सार्वजनिक सवारीका साधनमा जम्मा एक प्रतिशत भाडा घटाएको छ। एक प्रतिशतका दरले अहिले छोटो दूरीमा प्रतिकिलोमिटरमा जम्मा दुई पैसा मात्र भाडा घट्छ।
यो भाडाअनुसार न्यूनतम भाडादर १५ रुपैयाँ कायम रहेकोमा यो लागूपश्चात् पनि उपभोक्ताले १५ रुपैयाँ नै तिर्नुपर्ने भएको छ। विभागले अहिलेको भाडादर पेट्रोलियम पदार्थको मूल्यको आधारमा मात्र समायोजन गरिएको दाबी गरेको छ।
'कुल भाडामा पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत हुन्छ। अहिले घटेको मूल्यलाई अध्ययन गरेर नै मूल्य समायोजन गरेका छौं। नयाँ तालिकाअनुसार यात्रुलाई कुनै फाइदा भएन।
गत कात्तिकमा भाडादर कायम भएको भए अहिले कम्तीमा तीन रुपैयाँसम्म घटाउन सकिन्थ्यो,' विभागका निमित्त महानिर्देशक शरद अधिकारीले भने, 'तर त्योबेला भाडादर नबढ्दा अहिले मूल्य समायोजन गर्दा पनि सर्वसाधारणलाई फाइदा भएन। तर नयाँ भाडादर तालिकाबाट लामो दूरीका यात्रुलाई प्रतिकिलोमिटरमा सामान्य फाइदा हुन्छ।'
पछिल्लो चार महिनामा छैटौंपटक घटेर पेट्रोल प्रतिलिटर एक सय १६ रुपैयाँ कायम भएको छ भने डिजेल ९१ रुपैयाँ रहेको छ। विभागले यो भाडादर बुधबारदेखि लागू गर्ने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेकाले सोही अनुपातमा राहत दिने नाममा व्यापारीसँग मिलेमतो गरेर जम्मा दुई पैसामात्रै घटाएको हो। 'सरकारले व्यापारीसँग मिलेर मूल्य समायोजन गरेको नाममा जनतालाई बेकुफ मात्रै बनायो,' उपभोक्तावादी प्रेमलाल महर्जनले भने, 'कायम भएको भाडादर हात्ती आयो हात्ती आयो फुस्सा उखानजस्तै बन्यो। सरकारले सिधै ठगि गरेको हो। यसबारेमा पुन: मूल्यांकन हुनुपर्छ।'
