कतारमा एक नेपालीको मृत्यु


१० पुस, कालीकोट । एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक नेपालीको मृत्यु भएको छ । काठमाडौंस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट गाविस ६ का त्रिमले सार्कीका छोरा अम्बेको गाडी दुर्घटनामा मृत्यु भएको हो ।
कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो । उनी कतारको दोहास्थित अल्मुसरी कम्पनीमा साधारण लेबरका रुपमा काम गर्दै आएका थिए ।
नेपालस्थित म्यानपावर कम्पनीका अनुसार घटनाका सम्बन्धमा कतार प्रहरीले अनुसन्धान थालेकाले घटनाको खास कारण अहिले नै भन्न नसकिने बताइएको छ ।
मृतक अम्बे सार्कीका आमा, बुबा, एक भाइ, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी गाउँकै सरस्वती माविमा कक्षा १० मा अध्ययन गर्दागर्दै एकपटक मलेसिया गएर फेरि कतार गएका थिए ।
विदेश जाँदा निकालेको साहुको ऋण चुक्ता गर्न नपाउँदै छोराको मृत्यु भएको खबरले घरपरिवार भावविहृवल भएका छन् । रासस




प्रतिक्रिया दिनुहोस्...