यो पुस माघ को जाडो मा पनि आङ ढाक्ने कपडा नहुदा ...आउनुहोस पुरै पढौ ..मानब ले मानब को दुख बुझ्न खोजौ ..
कुविक एनपी न्युज
लोथर-४ का गोमानसिंह र साइँलीमाया दम्पती
भरतपुर, पुस ९ - मकवानपुरको
लोथर ४ का ७८ वर्षीय गोमानसिंह चेपाङको आङ ढाक्ने लुगा छैन । प्रत्येक
वर्ष आउने जाडोले उनलाई पिरोल्छ । कहिले आगो बालेर त कहिले घाम तापेर जाडो
भुल्न खोज्छन्, तर सक्दैनन् । त्यसैले जाडोमा काम्दै गुजारा गर्न बाध्य छन्
। ७५ वषर्ीया साइँलीमायासँग भत्किएको सानो झुप्रोमा उनी जाडोगर्मी केही
नभनी बिलौना गर्दै रात गुजार्ने गरेका छन् । सेपिलो पाखो भएकाले उनको
आँगनमा हतपत्त घाम देख्न पाइँदैन । तातो खाएर न्यानोमा सुत्नुपर्ने वृद्ध
उमेरमा बिहानबेलुका आधा पेट खोले र अँगेनाको तातोले प्राण धान्नुपरेको छ ।
राति ओढ्ने लुगा नहुँदा दम्पती आगो बालेर
सुत्छन् । बिहान उठ्दा शरीर खरानीले ढाकिएको हुन्छ । हुर्किसकेका चार भाइ
छोरा गरिबीका कारण ससुरालीमै ज्वाइँ बसेपछि वृद्ध दम्पती सहाराविहीन छन् ।
कठ्यांगि्रँदो पुस, माघ महिना होस् वा गर्मी वैशाख, जेठ । वर्षौंदेखि
गोमानसिंहको शरीरले लगौंटीबाहेक अरू कपडा देख्न नपाएको छिमेकी नरबहादुर
चेपाङ बताउँछन् ।
अन्न फल्ने दुई सुर्का बारी मात्र छ ।
वृद्ध शरीरले काम गर्न नसक्दा यो वर्ष एक डोको मकै फल्न धौधौ पर्यो ।
‘छिमेकीले पीठो दिए चुलो बल्छ,’ स्ााइँलीमायाले भनिन्, ‘त्यो पनि नपाउँदा
भोको पेट सुत्नुपर्छ ।’ छिमेकमा एक घर मात्रै छ । अर्को गाउँ पुग्न डेढ
घन्टा हिँड्नुपर्छ । बुढ्यौलीले वृद्ध दम्पती टाढा जान सक्दैनन् ।
‘दुःखीलाई कसले पो हेर्छ र ?’ गोमानसिंह पीडा पोख्दै भन्छन्, ‘अब त खान
नपाएरै सास जालाजस्तो छ ।’ दसैंमा एक छाक ढिँडो पेटभर खान नपाएका उनी पूरा
पेट खाने कुरा सपना मात्र भएको दुःखेसो पोख्छन् ।
‘मैले यो दम्पतीलाई लामो समयदेखि यही
अवस्थामा देखिरहेको छु,’ चेपाङको क्षेत्रमा काम गर्दै आएका गामबेसी चेपाङ
संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले भने, ‘बेलाबेला सानातिना सहयोग
जुटाएर उपलब्ध गराए पनि दीर्घकालीन रूपमा केही गर्न सकिएको छैन ।’
वृद्धभत्ता मात्रै उपलब्ध गराउन सकिए पनि दम्पतीलाई राहत मिल्ने उनी
बताउँछन् । गोमानसिंहको घर पूर्वपश्चिम राजमार्गको भन्डारादेखि करिब १२
घन्टाको पैदल दूरीमा पर्छ ।स्रोत :इकान्तिपुर
