अब २३ वर्ष पुगेपछि मात्र ड्राइभिङ लाइसेन्स


मन्त्रिपरिषद्ले बिहीबार कानुन संशोधन गर्दै सवारीचालक अनुमतिपत्र लिन क तीमा १० कक्षा पास गरेको हुनुपर्ने नियम बनाएको छ। अनुमतिपत्र लिन २३ वर्षदेखि ५९ वर्ष उमेर हुनुपर्ने र क तीमा तीन किलोमिटर रोड टेस्ट पास गरेको हुनुपर्ने प्रावधान पनि राखिएको छ। मन्त्रिपरिषद्ले मुलुकमा दिनहुँजसो गाडी दुर्घटना हुन थालेपछि रोकथाम गर्न नीतिगत र कानुनी सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ। कार्यदललाई सवारी दुर्घटना कम गर्न रोड परमिट, चालक अनुमतिपत्र, सवारीसाधनको यान्त्रिक जाँच, सडकको अवस्थालगायत विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र प्रारम्भिक प्रतिवेदन र १५ दिनमा पूर्ण प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। कार्यदलमा कानुन र गृह मन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक र अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य रहनेछन्। कार्यदलले सात दिनभित्र तत्काल सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन बुझाउने जानकारी बैठकपछि कानुनमन्त्री नरहरि आचार्यले दिए। ‘शृंखलाबद्ध गाडी दुर्घटना भएकाले रोकथाम गर्ने उद्देश्यले सरकारले कार्यदल गठन गरेको हो’, उनले भने, ‘सात दिनभित्र प्रारम्भिक र १५ दिनमा पूर्ण प्रतिवेदन पेस गरेपछि सरकारले कार्यान्वयन गर्नेछ।’ मन्त्रिपरिषद्ले पछिल्लो समयमा सवारी दुर्घटनाका घाइतेको उपचारखर्च बेहोर्ने निर्णय पनि गरेको छ।





प्रतिक्रिया दिनुहोस्...