चार दलले बनाए फेरि कार्यदल, ‘सहमति नभए मतदान प्रक्रिया अघि बढ्ने’
काठमाडौं, पौष १० । संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै चार दलले फेरि कार्यदल बनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले चार सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा कांग्रेसका कृष्ण सिटौला, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण रहेका छन् । कार्यदललाई दुई दिनभित्र सुझाव दिन निर्देशन दिइएको छ ।
बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले कार्यदलमा सहमति नभए प्रक्रियामा जाने बताए । अपरान्ह ४ बजेदेखि सुरु भएको बैठकमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी थिए । सत्ता पक्ष र विपक्षीबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन र न्यायप्रणालीबारे मतभेद रहँदै आएको छ ।
