‘कोठामा थुनेर’ पत्रकार यादवमाथि कुटपिट


विराटनगर, पौष ९ । समाचारको विषयलाई लिएर विराटनगर साप्ताहिकका पत्रकार ब्रम्हदेव यादवमाथि कुटपिट भएको छ । सुनसरी, मोरङ, सिँचाइ आयोजनाका कर्मचारीहरुले बन्धक बनाएर यादवमाथि कुटपिट गरेका हुन् ।

इन्जिनियर तारा पौडेल, केदार तिवारी, प्रेमचन्द झा तथा कार्यालयका भान्सेले आफूमाथि निर्घात कुटपिट गरेको पत्रकार यादवले बताए । एक साताअघि विराटनगर साप्ताहिकमा

सो कार्यालयमा भएको भष्टाचारसम्बन्धी समाचार लेखेका कारण आफूमाथि आक्रमण गरिएको यादवले बताए ।

कार्यालयका प्रोजेक्ट मेनेजर मधुकर राजभण्डारीले फोन गरेर समाचारको विषयमा कुरा गर्न बोलाएको र भान्सा कोठामा दुई घन्टा थुनेर कुटपिट गरेको यादवको भनाइ छ । कुटपिटबाट यादवको मुख, आँखा र ढाडमा चोट लागेको छ । आफूसँग रहेको ३ हजार रकम तथा मोबाइल समेत लुटिएको यादवले दाबी गरे ।

यसैबीच, पत्रकार यादवमाथि भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङ, प्रेस चौतारी मोरङ र प्रेस युनियन मोरङले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्...