फोटो :मनिका झा (बाबुआमाले फालेका दुर्इ नवजात बालिका उद्दार गरिएपछि)
जनकपुरधाम : कठ्यांग्रिदो जाडोमा सालनालसहित फालिएका दुई नवजात छोरीको स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेको छ । धनुषा र महोत्तरीमा प्रहरीले उद्धार गरिएका नवजात बालिकाहरुलाई जनकपुरस्थित सद्गुरु कबिर बालबात्सल्य आश्रममा बुझाइएको छ ।
खोपी गाविस महोत्तरीको बैरिया टोलको पोखरी डिल र धनुषाको महेन्द्रनगर नजिकै बाँसघारीमा फालिएका नवजात बालिकाहरुलाई स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
चिसो लागेर गम्भीर अवस्थामा रहेका बालिकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराई अनाथआश्रमको जिम्मा लगाइएको सञ्चालक सन्त आलोकले जानकारी गराए ।
पछिल्लो समयमा छोरी जन्माएर फाल्ने प्रवृत्ति बढ्दै गएको छ । हालसम्म आश्रममा ६ वटा फालिएका छोरीहरुको पालनपोषण गरिराखेको आलोकले बताए । छोराको आशमा छोरी जन्मेका र अनैतिक सम्बन्धबाट जन्मिएका बच्चाहरुलाई मर्नका लागि फाल्ने गरिएको आलोकले बताए ।
६ वर्षदेखि संचालित आश्रममा हालसम्म १६ जना बेवारिसे बालबालिकाहरु ल्याइएको छ । जसमा ४ जना घरपरिवारमा फिर्ता भइसकेका छन् । ४ को कुपोषणका कारण मृत्यु भईसकेको आलोकले बताए । हाल आश्रममा दुई छोरा सहित ८ जना बालबालिकाहरुको लालनपालन भईरहेको छ ।
बालबालिकाहरुलाई जन्म दिएर फाल्नेहरुलाई कारबाही गर्न प्रशासनले तदारुकता नदेखाएको कारण यस्तो प्रवृत्ति बढ्दै गएको आश्रमकी सञ्चालिका मिरा दिदीले बताईन् । बच्चा भेटाएकै बेला गाउँमा सोधपुछ गर्दा पत्ता लाग्ने अवस्थामा प्रशासनिक निकायले ध्यानै नदिएर बच्चा आफूहरुलाई जिम्मा लगाई पन्छिने गरेको मिराको भनाइ छ ।
बाबुआमाले बाँसघारीमा फालेका दुर्इ छोरीलार्इ प्रहरीले बचायो