बिहेमा प्रहरी गाडीको व्यापक दुरुपयोग


ओएस नेपाल, चितवन, २७ मंसिर । कार्यालय प्रयोजनबाहेकको काममा सरकारी गाडी प्रयोग हुनु वा गरिनु नियमविपरीत कार्य मानिन्छ तर शुक्रबार भरतपुरमा एउटा बिहे समारोहमा सरकारी गाडीको व्यापक दुरुपयोग भएको भेटिएको छ । भनपा १२ स्थित मालपोतचोकदेखि होटल ग्लोबलसम्म आधादर्जनभन्दा बढी सरकारी नम्बर प्लेटका गाडी बिहेका पाहुना बोकेर आवतजावत गरिरहेका थिए । त्यो पनि कार्यालय समयमै । त्यो दृश्य हेर्नेका लागि सरकारी गाडी कसरी दुरुपयोग भइरहेको छ त्यसको अनुमान राम्रैसँग गर्न सकिन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी ड्युटीमै हिँड्ने एउटा मोबाइल भ्यान बिहेको पाहुना बोक्न प्रयोग भएको थियो । त्यस्तै, अन्य सरकारी कार्यालयका गाडीमा पनि पाहुनाहरु बोकिएको थियो । जनताको शान्ति सुरक्षाका लागि हिँड्ने प्रहरीको मोबाइल भ्यान बिहेका पाहुना बोकेर हिँड्दा धेरैले अचम्म माने । पंक्तिकार बिहे घरनजिक पुग्दा प्रहरीको गाडीबाट बिहेका पाहुनालाई झरिरहेका थिए । त्यस्तै बा २ झ १०४३, बा १ झ ९३२२ नम्बरका गाडी र ना १ ब १९०६ नम्बरको सरकारी मोटरसाइकल थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सहकुलबहादुर थापाले गाडी दुरुपयोग भएकाबारे आफूलाई थाहा नभएको बताए । साथै उनले प्रयोग भए÷नभएको अनुसन्धान गरेर कारबाही गरिने प्रतिक्रिया दिए । यसै हप्तामात्र चितवनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बराल र चुनावी मन्त्रिपरिषद्का अध्यक्ष पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा चितवनमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न गरिएको थियो । कार्यक्रममा दुवै अतिथिले भ्रष्टाचार न्यूनीकरण गर्न सबैभन्दा पहिले आफै प्रतिबद्ध हुनुपर्ने धारणा राखेका थिए । साथै उनीहरुले सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्न कडा कानुनको आवश्यकतासमेत औँल्याएका थिए । कार्यक्रममा अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख हरिराज पन्तले सरकारी ढुकुटीको नास गर्नेलाई कुनै हालतमा उन्मुक्ति नदिने बताएका थिए । तर भरतपुरमा भएको यस्तो दुरुपयोगमा अख्तियारको ध्यानाकर्षण किन भएन ? यस विषयमा प्रतिक्रिया माग्न खोज्दा प्रजिअ डा मानबहादुर बिकेले अर्को कार्यक्रममा व्यस्त भएकोले तत्काल प्रतिक्रिया दिन असमर्थ रहेको बताए । यस विषयमा प्रतिक्रिया माग्दा भ्रष्टाचारविरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।



,

प्रतिक्रिया दिनुहोस्...