मुलुकमा अनेक अभियान चल्छन् तर त्यो अभियानको प्रभाव कहीं कतै देखिंदैन । यतिबेला महिला हिसा विरुद्धको अभियान चलिरहेको छ । तर बाँके कोहलपुर बस्ने सरकारी कर्मचारी एक पुरुष भने श्रीमती भनेको लोग्नेको आकांक्षा पूरा गर्ने मेसिन हो र जुनसुकै बेला जस्तोसुकै कार्यका लागि तयार रहनुपर्छ भन्ने मान्यता राख्ने गरेको खुलस्त भएको छ ।
त्यसैले त उनले आफ्नी श्रीमतीलाई शारीरिक सम्पर्क गर्न नदिएको झोंकमा श्रीमतीको गुप्तांगमा फलामाको रडले घोचिदिए । यतिबेला पीडित महिला प्रहरीको संरक्षणमा छिन् ।
समाचार अनुसार आन्तरिक राजश्व विभाग नेपालगञ्जमा कार्यरत लोकेन्द्र गिरीले आफ्नै श्रीमतीलाई यौन सम्पर्क गर्न नदिएको झोंकमा फलामको रड गुप्तांगमा घुसारिदिएको आरोप उनीकी श्रीमती तारादेवी देवकोटाको छ ।
श्रीमती देवकोटा यतिबेला लोग्नेबाटै चरम यातना र यौेन शोषणमा परेको बताउँदै न्यायको खोजीमा छिन् । ४५ वर्षीया देवकोटाको कथन छ- “म बुढी मानिस धेरै गर्न सक्दिन भन्दै रोइकराइ गरे तर तलाई के गर्न राखेको हो ? नमान्ने भन्दै सुर्वाल तानेर फालामे रड गुप्ताङमा घोच्न थालेपछि चिच्चाउँदै भागेर ज्यान जोगाए ।”
यसअघि शारिरीक सम्बन्ध राख्न नदिएको भन्दै बारम्बार कुटपीट गर्दै आएको पनि देवकोटाले बताइन् । कोहलपुरको आरसी टोलमा डेरा गरी बस्दै आएका उनीहरुको लोग्नेको व्यवहार देखेर सोमबारदेखि घरबेटीले घरमा बस्न नदिएको देवकोटाले बताइन् ।
अहिले ती महिला घर न घाटकी भएकी छिन् । कतैबाट सहगोग नपाएपछि उनी रुदै न्यायको खोजीमा भौतारिएकी छिन् । पतिले ज्यान मार्ने धम्की दिएकाले प्रहरीमा उजुरी समेत गर्न डराइ रहेको उनले बताइन् ।
उता गिरी भने पत्नीले भनेजस्तो कुनै यानता नदिएको बताउँदै जग्गा मेरो नाममा गरी देउ भन्दै विवाद भएको र आफूबाट कुनै गल्ती र मारपीट नभएको बताएका छन् ।
पीडित महिलाको उजुरीपछि गिरीलाई नियन्त्रणमा लिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए । पीडित महिलालाई इलाका प्रहरी कार्यालय कोहलपुरले संरक्षण दिएर अनुसन्धान तथा अन्य कारबाही प्रकृया सुरु गरेको छ ।