९० जनाले प्रेम प्रस्ताव राखे....नवीना लामा


महिलामाथि पुरुषका बग्रेल्ती टिप्पणी सुनिन्छन्, लेखिन्छन् । तर, पुरुषमाथि महिलाको टिप्पणी दुर्लभ सुन्न पाइन्छ । कमै लेखिएका छन् । तर, अनेरास्ववियुकी महासचिव नवीना लामाले पुरुषमाथि खुलेर टिप्पणी गरिन् । अनेरास्ववियुकी महिला विभाग प्रमुख केशरा ज्ञवालीको थापागाउँस्थित डेरामा भेटिएकी लामाले नयाँ पत्रिकाकर्मी मनोज घर्तीमगरसित पुरुषबारे आलोचनात्मक टिप्पणी मात्र गरिन् :
हाइस्कुलमा कक्षाकोठामा केटाहरूको बाहुल्य हुन्थ्यो । ४० केटा हुँदा मुस्किलले १० जना केटी हुन्थ्यौँ । तर, पनि १० केटीले ४० केटालाई हेप्थ्यौँ । केटी संख्यामा कम, तर गुणात्मक थियौँ । पढाइमा होस् या अतिरिक्त क्रियाकलापमा । जब म राजनीतिप्रति आकर्षित हुन थालेँ, पुरुष साथीहरू बढ्न थाले । मैले बिस्तारै पुरुषहरूको कमान्ड गर्न थालेँ । हाजिरी जवाफमा टिम क्याप्टेन हुन्थेँ । सुरु–सुरुमा त केटाहरू केटीको कमान्डमा बस्न गाह्रो मान्थे । बिस्तारै बानी मान्न थाले ।
एकपटक अखिलका जिल्ला अध्यक्ष क्वाङचु लामा र म कोसीपारि गयौँ । म त्यसवेला जिल्ला सदस्य थिएँ । । दुई दिनपछि फर्कियौँ । जीवनमा पहिलोपटक एउटा पुरुषसँगको लामो यात्रा त्यही थियो । हामी पार्टीका गाउँ कमिटीका अध्यक्षका घरमा बस्यौँ । क्वाङचुले मलाई ‘बहिनी’ भनेर सम्मान गर्थे । सहयोग गर्थे । अरू दृष्टिले हेर्दै हेरेनन् ।
हामी गएपछि गाउँमा गाइँगुइँ हल्ला चल्न थालेछ, ‘त्यो केटी त एउटा केटोसँग कहाँ–कहाँ गइछे ।’ म १७ वर्षकी थिएँ, ०५३ तिर । फुपूको छोरो काठमाडौंबाट साथीसहित बाइकमा काभ्रे फर्कंदै रहेछन् । म पनि उनीहरूसँग त्यही बाइकमा फर्किएँ । फुपूको छोरोको साथीले बाइक चलायो । म बीचमा र फुपूको छोरो पछाडि बस्यौँ । काठमाडौंमा रहेकी आमाकहाँ खबर पुगेछ, ‘तिम्री छोरी बिग्रने भई । दुईजना केटाको बीचमा बाइकमा बसेर गाउँभरि हिँडिरहेकी छे ।’ कुनै काम विशेषले आमा गाउँ आउनुभयो । ‘तँ राजनीतिको नाममा केटासँग हिँड्ने’ भन्दै हिर्काउनु नै भयो ।
०००
कलेज लाइफ सुरु भएपछि पुरुष साथीहरू ह्वात्तै बढे । २० जना पुरुष हुँदा म एक्ली हुन्थेँ । दिनभरजसो म केटाहरूसँगै हुन्थेँ । त्यसयता मेरा केटीभन्दा केटा साथी बढी छन् । मेरो मोबाइलमा समेत महिलाभन्दा पुरुषको नम्बर बढी छ । विदेश जाँदा पनि पुरुष नै साथी हुन्छन् । तैपनि, धेरै पुरुषको बीचमा एक्ली महिला हिँड्दा कुनै अप्ठ्यारो फिल हुँदैन ।
स्कुलकालमा कुनै पनि केटाले औँला उठाएन । मैले पनि कुनै केटालाई कुटिनँ । कलेज पढ्दा भने बानेश्वरको स्ववियु उपसभापतिलाई झापड हानेँ । म स्ववियु सचिव थिएँ । बैठकमा उसले तथानाम गाली गर्‍यो । मैले हानिदिएँ । ब्ल्याक बेल्टवाली हुँ, कुनै पनि पुरुषले ‘आक्रमण गर्छ कि’ भन्ने डर लाग्दैन ।
०००
केटाहरू केटी देख्यो कि प्रेम प्रस्ताव राख्छन् । स्कुलकालमा कम्तीमा पनि ३० जनाले प्रेम प्रस्ताव गरे । कोही तल्लो त कोही माथिल्लो घरका हुन्थे । यसरी राख्नेमा आफ्नै स्कुलका क्लासमेटहरू धेरै हुन्थे । अर्को स्कुल पढ्नेहरू हुलाकमार्फत प्रेमपत्र पठाउँथे । तल्लो क्लासकाले त आँट गर्दैनथे ।
पाँचजनालाई त मैले पनि पत्र फर्काएँ । दुईजनालाई उनीहरूको प्रेमप्रस्ताव स्वीकार गरेर लेखेँ । तीनजनालाई ‘रेस्पेक्ट’ गरेर जवाफ फर्काएँ । डेटिङ त कहाँ जानु र ? हेरेर माया साटिन्थ्यो ।
एकजना त साँच्चिकै राम्रो थियो । पढाइमा ट्यालेन्ट थियो । राजनीतिक चेतना मेरोभन्दा बढी थियो । मैले कलेज ‘ज्वाइन’ गरेपछि पनि पत्र लेखिराख्थ्यो । ‘विवाह गर्नुपर्‍यो’ भन्थ्यो । तर, राजनीतिलाई निरन्तरता दिन चाहेन । म राजनीतिलाई प्राथमिकतामा राख्थेँ । त्यसपछि पत्र आदान–प्रदान नै बन्द भयो ।
कलेज सुरुवातपछि हालसम्म स्कुलको भन्दा ‘डबल’ नै प्रेम प्रस्ताव आए । तीन वर्ष भयो, प्रेम प्रस्ताव राख्नेहरूको संख्यामा कमी आएको छ । कोही–कोही फेसबुक च्याटमा प्रेमको प्रसंग निकाल्न खोज्छन् । कसै न कसैको प्रेममा त बाँच्नु नै पर्‍यो नि । कहिलेदेखि कसको प्रेममा छु त नभनौँ, तर निरन्तर चलिरहेको छ ।
०००
पुरुषको शारीरिक बनावटले नै पहिले आकर्षित गर्छ । शारीरिक बनावटसँगै उसको व्यवहारले आकर्षित गर्छ । रूपमा जति सुन्दर देखिए पनि व्यवहार बेठीक छ भने त्यस्तो पुरुषले कहिल्यै आकर्षित गर्दैन । गहँुगोरो छाला, हाइटी र मिलेको ज्यानले नै आकर्षित गर्छ ।
केटीलाई रेस्पेक्ट गर्ने केटाको बानी असाध्यै मन पर्छ । केटीहरू त त्यसै पनि रेस्पेक्ट गर्छन्, मलाई केटाहरू पनि उत्तिकै रेस्पेक्ट गर्छन् । केटीलाई डोमिनेट गर्ने केटाको शैली मलाई पटक्कै मन पर्दैन । केही केटाहरू ‘महिलाले जान्दिन’ भनेर डोमिनेट गर्न खोज्छन् । अहिले पनि संगठनमा गुटबन्दी, प्रतिस्पर्धीका नाममा डोमिनेसन भोगिरहेका छौँ । तर, मलाई कहिल्यै पुरुषभन्दा कमजोर छु भन्ने लाग्दैन । राजनीतिमा मेरा प्रतिस्पर्धी पुरुषहरू नै हुन् ।
०००
केटाहरू ‘डाइरेक्ट’  वा ‘इन्डाइरेक्ट’ ‘फिजिकल रिलेसन’को चाहना राखिरहेका हुन्छन् । ‘इन्डाइरेक्ट’ रूपमा बढी चाहना राखिरहेका हुन्छन्, जो मजस्ती केटीले सजिलै बुझ्न सक्छु । आजकलका केटाहरूमा ‘यो केटीसँग कसरी फिजिकल रिलेसन राख्ने’ भन्ने ‘मेन प्वाइन्ट’ देखिन्छ ।
५–६ वर्ष संगत गरेको केटो साथी पनि लास्टमा सेक्ससँग जोडिएका कुरा गरेर सेटिसफाई हुन खोज्ने जात हो लोग्नेमान्छे । सेक्सको मामिलामा केटाहरू स्वार्थी हुन्छन् । ‘राम्रो हो कि’ भनेको केटामा पनि त्यो लुकेको हुन्छ । श्रीमती भएका पनि ‘यो मामिला’मा अरू केटीसँग लाग्छन् जस्तो लाग्छ । यस्तो सोच बोक्नेहरू घटिया हुन् । त्यसकारण मलाई केटाहरू फरक आइडल हुन भन्ने लाग्दैन । फेस टु फेस आँखा हेरेर, ढाडमा प्याट्ट पिटेर, ह्यान्डसेक गरेर पनि सेटिसफाई हुन खोज्छन् ।
केहीले मलाई पनि व्यवहार र घुमाउरा शब्दले फिजिकल रिलेसनका लागि प्रस्ताव राखे । वास्तवमा यो केटी कस्तो क्यारेक्टरकी छे भन्नेमा पनि भर पर्छ । ‘सेक्सुअल रिलेसन’को ‘इन्ट्रेस्ट’ नभएकोले कसैको प्रस्ताव स्विकारिनँ । कुनै पनि केटाको सेक्स प्रस्ताव आजसम्म स्वीकारेको छैन । भोलिको कुरा फरक हो ।
केटाहरूलाई सेक्सका लागि प्रस्ताव गर्ने आँट त हामीमा कसरी आओस् । त्यो वातावरण, त्यो फिलिङ कहिल्यै भएन । खुला बहस गर्न सकिन्छ ।
०००
एउटी महिला जीवनमा सफल हुनका लागि पुरुष अनिवार्य चाहिन्छ । सेयरिङ, केयरिङ, आइडियामा अनिवार्य चाहिन्छ । केटीलाई पनि विपरीत लिंगी चाहिन्छ ।
पुरुषविनाको संसार कल्पना गर्न सकिँदैन । महिलाविनाको संसार पनि त हुँदैन । पुरुष र महिलाविनाको संसार हुनै सक्दैन । अहिले पनि सार्वजनिक बसमा यात्रा गर्दा केटाहरू ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्छन् । भीडभाडमा मैले पनि त्यो भोगकी छु । जुन पदमा बसोस्, पुरुषमा पुरुषप्रधान र सामन्ती सोच छ । बाहिर जेजस्तो देखिऊन् । केटाहरू हरेक कुरालाई सेक्ससँग जोड्न चाहन्छन् ।
०००
पुरुषहरू पहिलो रूपमा साथी हो । तर, मानसिक रूपमा भने केटीहरूलाई हेर्ने नजरमा स्वार्थ लुकेको छ । यो सबै पुरुषमा नहुन सक्छ । केही केटीमा पनि त्यस्तो स्वार्थ हुन सक्छ । तर, केटाको तुलनामा त्यो नगन्य हुन सक्छ ।
पुरुषहरू महिलामैत्री कम छन् । पुरुषहरूको सोचमा परिवर्तन हुनुपर्छ । जे भन्छन्, त्यो व्यवहारमा उतार्नुपर्छ । दलितमुक्तिको चर्को भाषण गर्ने तर दलित केटीलाई नस्वीकार्ने हुनुभएन । क्रान्तिकारी भाषण गर्ने घरमा श्रीमतीलाई शोषण गर्ने, बाहिर माक्र्सवादी दर्शनको कुरा गर्ने, घरमा श्रीमतीको प्रगति नचाहने, श्रीमती बाहिर कतै गए शंका गरिहाल्ने समस्या पुरुषमा छ । अझै पनि कतिपय ठूला भनिएका पुरुषहरू पनि ‘श्रीमती आफ्नो ठाउँमा बस्नुपर्छ’ भन्छन् ।  पुरुषले बुझ्नुपर्छ, ‘महिलाविना म अगाडि बढ्न सक्दिनँ ।’ महिलाले पनि बुझ्नुपर्छ, ‘पुरुषविना म अगाडि बढ्न सक्दिनँ ।’





प्रतिक्रिया दिनुहोस्...