डेरा सरेको १० दिनमै इलामकी खेममायालाइ घरबेटीले निकाले


काठमाडौं । दलित भएकै कारण एक घरधनीले भाडामा बस्नेलाई घरबाट निकालेका छन् । डेरा सरेको १० दिनमै इलामकी खेममाया सिवा निकालिएकी हुन् । इलाम साँखेजुङकी सिवा बत्तिसपुतलीस्थित रामचन्द्र मार्गका ध्रुवप्रसाद लामिछानेको घरमा १० दिनअघि डेरा सरेकी थिइन् ।


तर, उनी दलित भएको थाहा पाएपछि जजमानी गर्ने लामिछानेले शनिबार घरबाट तत्कालै निस्केर जान भनेको नयाँ पत्रिकामा खबर छ । सिवाका अनुसार डेरा सरेको चार दिनपछि उनीसँग लामिछानेकी श्रीमतीले जात सोधेकी थिइन् । आफू परियार भएको बताएपछि भोलिपल्टबाटै कोठा खाली गर्न दबाब दिएको सिवाले बताइन् । ‘कोठा सरेको चार दिनपछि घरबेटी कोठामा आउनुभयो ।

केहीबेर गफगाफ चल्यो । जात के हो भनेर सोधेपछि मैले परियार हो भनेँ,’ उनले भनिन् ‘त्यसपछि कोठाबाट जुरुक्क उठेर जानुभयो । भोलिपल्टदेखि त तत्काल कोठा खाली गर्न भन्न थाल्नुभयो ।’ कोठा नपाइएकाले आफू तत्काल सर्न नसकेको सिवाले बताइन् ।

तर, लामिछाने परिवारले तत्काल कोठा सर्न दबाब दिँदै आएको छ । दलित भएकै कारण आफूलाई कोठा सर्न दबाब दिएपछि सिवाले महानगरीय प्रहरी प्रभाव गौशालामा उजुरी दिइन् । उजुरी पछि प्रहरीले उनीहरुलाई पक्राउ गरी आगामी दिनमा यस्तो नगर्ने कागज गराएर छाडिदिएको छ ।



,

प्रतिक्रिया दिनुहोस्...