नरेन्द्र मोदी र विनोद चौधरीबीच दिल्लीमा भेटवार्ता, के के भयो कुरा ?


Binod chaudari and modiमाघ १६ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीवीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास सेभेन रेस कोर्स, नयाँ दिल्लीमा भएको उक्त भेटवार्तामा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी र कार्यकारी निर्देशक राहुल चौधरी पनि सहभागी थिए ।
मोदीसँग चौधरी ग्रुपका अध्यक्ष चौधरीको पारिवारिक भेटवार्ता भएको हो । ‘उहाँ गुजरातको मुख्यमन्त्री हुदादेखि नै हामीवीच पारिवारिक सम्वन्ध रहदै आएको छ’ भेटवार्तापछि अध्यक्ष चौधरीले भने- ‘कार्य व्यस्तताका बाबजूद समय उपलब्ध गराई हामीप्रति आत्मियता दर्शाउनु भएकोमा म भारतीय प्रधानमन्त्री मोदीज्यूप्रति आभारी छु ।’
प्रधानमन्त्री मोदीले विवाहको तयारीमा रहेका चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीलाई बधाई एवं शुभकामना दिए ।
उक्त अवसरमा अध्यक्ष चौधरीले नेपालको आर्थिक विकासका लागि नेपाल भारत र चिनबीच त्रिदेशिय सहकार्य हुनुपर्नेमा भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गरे । विशेष गरि नेपालको अपार जलस्रोतको उपयोगका लागि तीनदेशबीच निकट भविष्यमै सहकार्यको खाँचो रहेको धारणा अध्यक्ष चौधरीले राखेका थिए ।
‘नेपालका मेगा हाईड्रो प्रोजेक्टहरुको विकासका लागि नेपाल, भारत र चिनबीच सहकार्य हुनुपर्छ भन्ने मेरो मान्यता छ । नेपाललाई आर्थिक विकासको तिब्र गतिमा अगाडि बढाउन तीन देशबीच सहकार्यको वातावरण सकेसम्म चाडो तयार हुनुपर्छ भन्ने धारणा भारतीय प्रधानमन्त्री समक्ष राखेको हुँ’ चौधरीले भने ।
त्यसैगरि भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष चौधरीबीच नेपालको समसामयिक राजनीतिक बिषयमा पनि छलफल भएको थियो । यसअघि मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पनि उनीहरुबीच भेटवार्ता भएको थियो ।
अध्यक्ष चौधरीले भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा उहाँका धर्मपुत्र जीतबहादुर सारु मगरको परिवारसँग पुर्नमिलन गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्...