प्रचण्डले भनेः भौतिक भिडन्तका लागि तयार रहनुस् !


 संविधानसभा भित्र रहेका १९ दलको विपक्षी मोर्चाले संविधानसभामा अन्तिम भिडन्त हुने निष्कर्ष निकालेको छ । आइतबार सिंहदरवारमा बसेको १९ दलीय मोर्चाको बैठकले सहमतिको सम्भावना सकिएको निष्कर्ष सहित अन्तिम मुठभेडका लागि तयार रहने निर्णय गरेको हो ।

बैठकमा जारी वार्ताबारे ब्रिफ गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रगित शून्य रहेको र कांग्रेस एमाले पेल्ने तयारीमा रहेको बताएका थिए । प्रक्रियामा गएर संविधान जारी गर्ने अन्तिम तयारीमा कांग्रेस एमाले रहेको भन्दै प्रचण्डले प्रक्रियाका लागि नियामवली संसोधन गर्न कार्य ब्यवस्थाबाट पारित हुनै नदिने गरि तयार रहन आग्रह गरेका थिए ।

बैठकमा संविधानसभामा प्रक्रियाको निर्णय भयो भने त्यस्लाई जसरी रोक्नु पर्छ, रोष्टम घेर्ने मात्र होइन पर्‍यो भने भौतिक भिडन्त पनि गर्नु पर्छ भन्ने निर्णय भएको मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिए ।

संविधान प्रक्रियाबाट जारी गर्ने गरी नियमावली संसोधन भएको अवस्थामा माओवादी मोर्चामा रहेका सबै दलले तयसको विरोध गर्दै संविधानसभाको रोष्टम घेर्ने र मार्शल लगाएर आफूहरुलाई बाहिर पठाए तत्काल त्यसको प्रतिवाद गर्ने मोर्चाको तयारी छ । त्यस्तो अवस्थामा माघ ५ गतेका लागि तय गरिएको नेपाल बन्द पर्सी नै हुन सक्ने एक सहभागिले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।

एमालेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नराम्रोसँग प्रयोग गर्न थालेको पनि प्रचण्डले बैठकमा बताएका थिए । एमालेलाई माघ ८ पछि सरकारको नेतृत्व चाहिएकोले के पी ओली आक्रामक रुपमा प्रस्तुत भएको र संविधानका नाममा एउटा रित्तो कागज जारी गरेर भए पनि सरकारको नेतृत्व खोजिरहेको प्रचण्डले बताएका श्रोतले जानकारी दियो ।

सहमति हुनै लाग्यो भनेर पनि केही नेताले अभिव्यक्ति दिइरहेका छन् । त्यसको खास भित्री कुरा के हो त ? श्रोत भन्छ, तराईमा दुई र पहाडमा ४ गरी ६ प्रदेशमा सहमतिको सम्भावना छ । तर नाममा सजिलै कुरा मिल्नेवाला छैन । कांग्रेस एमाले मिश्रित निर्वाचन प्रणालीमा आउन सहमत भएका छन् ।

कांग्रेस एमाले निर्वाचन प्रणली र न्याय प्रणालीमा लचक भएर प्रस्तुत भएपछि एकीकृत माओवादी शासकीय स्वरुपमा सहमत भएर उनीहरुले नै प्रस्ताव गरेको संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी र आलैकारिक राष्ट्रपति हुने गरी सुधारिएको संसदीय प्रणालीमा सहमत हुने संकेत देखिएको भएपनि कुरा मिल्न सकेन । केही दिन अघि मात्र ३० दलीय मोर्चाले आफ्नो पहिलेकै अडानलाई साझा प्रस्तावको रुपमा अघि सारेको थियो । मोर्चाका एक नेताका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले तपाईहरुको अवधारणा के हो त खै दिनुस् भनेर बारम्बार भनेकाले प्रस्तावको रुपमा तयार पारिएको थियो ।

यसैबीच संविधान जारी गर्ने विषयमा अन्तिम पटक सहमति खोज्न कांग्रेस, एमाले र एमाओवादी सभाध्यक्ष सुवास नेम्बाङसँग बैठक बसिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्...