देशैभरि बैद्य र प्रचण्डको बन्दै बन्द
२७ पुस, काठमाडौं । ‘आज कता बन्द छ हजुर ? पूर्व बन्द छ कि पश्चिम ?’ एनजीओको बैठकमा सहभागी एक सामाजिक कार्यकर्ताले अनलाइनखबरमा फोन गरेर भने, ‘बन्दको सूची नहेरेसम्म देशव्यापी हिँडडुल गर्दा बाटैमा अलपत्र पर्ने डरले नेपाल बन्दको क्यालेन्डर हेर्नैपर्ने भयो ।’
पूर्वरानी कोमल शाहलाई शुक्रबार झापा जानुपर्ने थियो । उनी बुद्ध एयरको विमान चढेर बिराटनगर पुगिन् । तर, त्यही दिन वैद्य माओवादीले पूर्वाञ्चल बन्द आयोजना गरेको थियो भन्ने न कोमललाई थाहा थियो, न त दमकमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई नै ।
पूर्वराजा ज्ञानेन्द्र पत्नीलाई ‘रिसिभ’ गर्न झापाबाट बिराटनगर आउँदा प्रहरीले स्कर्टिङ गर्यो । तर, कहिले कहाँ बन्द छ भनेर थाहा नपाउने सर्वसाधारणलाई कसले स्कर्टिङ गरिदिने ?
जनताको पक्षमा राजनीति गर्दै आएको बताउने विभिन्न दलले छुट्टाछुट्टै माग राखेर बन्द हड्ताल गर्दा सर्वसाधारण मर्कामा परेका छन् । कहिले कुन ठाउँमा बन्द छ भन्ने थाहा नपाउँदा बटुवाहरु वीच बाटोमै अलपत्र पर्ने क्रम बढेको छ ।
प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले छुट्टाछुट्टै आह्वान गरेको बन्दका कारण जनतादेखि पूर्वराजासम्मले सास्ती पाइरहेका छन् ।
दुबै पक्षको पूर्वघोषित आन्दोलनको कार्यतालिका अनुसार माघ पहिलो सातासम्म यस्ता बन्द हड्ताल जारी रहने छन् ।
आइतबार पनि बन्दै बन्द
एमाओवादी नेतृत्वको मोर्चाले आइतबार तमुवान, मगरात, किरात, खम्बुवान र लिम्बुवान बन्द गराएको छ । यस्तै वैद्य माओवादीले आइतबार नै पश्चिमाञ्चल बन्द गराएको छ ।
मोर्चाको बन्दका कारण लिम्बुवान प्रभावित अरुण नदी पूर्वका ९ं जिल्ला -सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा)को जनजीवन कष्टकर बनेको छ ।
नेकपा-माओवादीले शुक्रबार गराएको पूर्वाञ्चल बन्द खुलेको एक दिनपछि एमाओवादी मोर्चाले लिम्बुवान क्षेत्र बन्द आह्वान गरिँदा सर्बसाधारणले सास्ती पाएका हुन् ।
हातमा लिम्बुवान पार्टीको झण्डा बोकेका बन्द समर्थकहरुले मोटरसाइकल, एम्बुलेन्स, दमकल, प्रहरी र सरकारी सवारी साधन बाहेक अन्य कुनैलाई पनि गाडीलाई गुड्न दिएका छैनन् ।
बन्दकर्ताहरुले विद्यालयको गाडीमा समेत अवरोध पुर्याएका छन् । बन्दका कारण पूर्वका उद्योग कलकारखाना, ब्यापार ब्यवसाय सबै ठप्प छन् ।
गाडी तोडफोड
लिम्बुवान कार्यकर्ताले आइतवार बिहान साढे ५ बजे काठमाण्डौबाट यात्रु बोकेर झापाको काँकडभित्ता जाँदै गरेका दुई बसमा इटहरीमा तोडफोड गरेका छन् । बन्दकर्ताको ढुंगा प्रहारबाट दुबै बसका पछाडिका सिसा फुटेका छन् ।
संविधानका नाममा जनतालाई सास्ती
बन्दकर्ताहरुले जनपक्षीय संविधान बनाउन यस्ता बन्द र हडताल आयोजनाम गरेको बताउने गरेका छन् । तर, यस्ता कर्मकाण्डीय बन्द हडतालले सरकारलाई नभएर दिनभरि बनिबुतो गरिखाने सर्वसाधारण जनता नै बढी मर्कामा पर्ने गरेका छन् ।