नेपाल डिभिजन–१ नजिक


काठमाडौं, माघ ७ । नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन–१ नजिक पुगेको छ । नामिबियामा जारी डिभिजन–२ प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्दै नेपाल डिभिजन–१ नजिक पुगेको हो ।

बुधबार भएको खेलमा आयोजक नामिबियालाई ३ विकेटले हराएसँगै नेपालले ६ टोली सहभागी प्रतियोगिताको तालिकामा ६ अंकका साथ नामिबियासँग बराबरी गरेको छ । क्यानडार नेदरल्यान्ड्स समान ४ अंकबाट तेस्रो र चौथो स्थानमा छन् भने २–२ अंक जोडेका केन्या पाँचौं तथा युगान्डा छैटौं स्थानमा छन् ।

प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शुक्रबार केन्यासँग खेल्नेछ । उक्त खेल जितेको खन्डमा नेपालको डिभिजन–१ मा स्थान सुरक्षित हुनेछ । उक्त खेलमा नेपाल साँघुरो अन्तरले पराजित भएको खन्डमा पनि नेपाल डिभिजन–१ मा उक्लन सक्नेछ ।

तर, केन्याविरुद्धको खेलमा यदि फराकिलो हार व्यहोरेको खन्डमा भने नेपालको यात्रा डिभिजन–२ मै रोकिन सक्छ । समूहको अन्तिम खेलमा नेदरल्यान्ड्सले युगान्डासँग तथा नामिबियाले क्यानाडासँग खेल्ने भएकोले डिभिजन–१ प्रवेशको समीकरणमा केन्या र युगान्डाबाहेक अरु चारओटै टोली जीवित छन् ।

बुधबारको खेलमा कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्नेक्रममा ५६ बलमा ६४ रन बनाएपछि १ सय ४३ रनको चुनौती नेपालले ३७ ओभर ५ बल खेल्दै ७ विकेट गुमाएर पूरा गर्‍यो । तेस्रो विकेटका लागि पारससँग ५८ रनको साझेदारी गर्नेक्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे ।

यसअघि करण केसीले सशक्त बलिङ दोहोर्‍याएपछि नामिबिया १ सय ४२ रनमै समेटिएको थियोे । नेदरल्यान्ड्सविरुद्ध ५  विकेट लिँदै कीर्तिमान बनाएर हौसिएका करणले नामिबियाविरुद्ध ६ ओभर १ बल बलिङ गर्दै १२ रन खर्चेर ३ विकेट झारे ।

पहिलो खेलमा युगान्डासँग २ रनको झिनो अन्तरले पराजित नेपालले त्यपछि नेदरल्यान्ड्स, क्यानडा र नामिबियालाई हराएको छ । 





प्रतिक्रिया दिनुहोस्...