मलेसियामा अलपत्र ४० नेपालीलाई कम्पनीले काममा बोलायो
रोजगारीका सिलसिलामा मलेसिया पुगेका धौलागिरिका चारजना सहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपालीको दुई महिनापछि उद्धार गरिएको छ । गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट विमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपालीलाई कम्पनीले काम नदिएर अलपत्र परेको समाचार राससमार्फत विभिन्न पत्रपत्रिका, अनलाइनलगायतमा प्रकाशित भएपछि शनिबारदेखि कम्पनीले काममा बोलाएको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिनुभएको छ । उनीहरु काम नपाएर विगत दुई महिनादेखि मलेसियाको दामनसरा भन्ने ठाउँमा भोकभोकै बस्नुपरेको समाचार गत बिहीबार राससले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि नेपालस्थित मेनपावर कम्पनी, सरकारी निकाय र सरोकारवालाहरुको दबाबमा मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीले धौलागिरिका चारसहित ४० जना नेपालीलाई शनिबारदेखि काममा बोलाएको थापाले जानकारी दिनुभयो । “समाचारका कारण हाम्रो उद्धार भयो, काम पनि पायौँ”, शनिबार राति कामबाट फर्केपछि थापाले टेलिफोनमार्फत राससलाई बताउनुभयो ।