राजधानीमा सक्रिय गुन्डा समुहको एरिया कहाँसम्म,कसको इलाका कुन ?


चर्चित डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि डनहरुको उपस्थिती राजधानीमा शुन्यप्रायः छ ।

यद्यपी यी डनहरु अझै पनि गुप्त रुपमा सक्रिय भइराखेका छन् । अचम्म के छ भने राजधानीमा सक्रिय यी गुन्डाहरु समूह बनाएर अलग–अलग क्षेत्रमा सक्रिय छन् । उनीहरुको गुन्डागर्दी गर्ने इलाका पनि फरक छ । राजधानीमा सक्रिय गुन्डाहरुको समूह हो– काभ्रेली समूह । यो समूह २०६१ सालमा दीपक मनाङको समूहसँग छुट्टिएर बनेको हो । यसका नाइके गणेश लामा हुन् । काभ्रेको शंखु घर भएका लामाले काभ्रेकै युवालाई आफ्नो समूहमा राखी काभ्रेली समूह बनाएका थिए । सुरुमा दावा लामा,विष्णु लामा गणेशका दायाँ र बायाँ हात थिए । तर,अहिले दुवैजना गणेशसँग मिल्दैनन् । दरवारमार्गलाई जक्सन बनाएर गुन्डागर्दी गर्ने यो समूहले बानेश्वर क्षेत्रलाई आफ्नो एरिया बनाएको थियो । प्रहरीका अनुसार यो समूह अहिले तितरबितर भइसकेको छ । गुन्डाको अर्को खतरनाक समूह हो,मनाङे समूह । कुनै बेला दीपक मनाङे (राजीव गुरुङ) समूहको ठमेलमा एकछत्र राज थियो । यो समूहलाई खुसी नबनाई कसैले पनि ठमेलमा व्यापार व्यवसाय गर्न सक्दैनथ्यो । प्रहरी र नेता दुबै समूहलाई आफ्नो हातमा लिएर मनाङे समूहले लामो समय ठमेलमा राज गरेको थियो । तर,अहिले मनाङे समूहको आतंकबाट व्यवसायी मुक्त भइसकेका छन् । चक्रे समूह राजधानीको पूरानो डन समूहको रुपमा चिनिन्छ । चक्रपथ क्षेत्रमा लामो समय चक्रेते आतंक मच्चाए । ती क्षेत्रका मेनपावर , रेष्टुरेन्ट तथा अन्य ठूला व्यवसायीसँग उनी हप्ता असुल्थे । कतिसम्म भने त्रिवी शिक्षण अस्पतालका फार्मेसी तथा पार्किङको ठेक्कामा पनि त्यही समूहमो आधिपत्य थियो । अहिले यो समूह पनि तितरवितर छ । राजधानीका अर्का करोडपति डन हुन् कुमार घैंटे । उनले सामाखुसीलाई आधार इलाका बनाएर गुन्डागर्दी गर्दै आएका छन् । पटपकपटक पक्राउ पर्दै आएका घैंटे प्रायः विदेशमा नै हुन्छन् । बुढा डन गोर्खालीको अर्को डन समूह पनि राजधानीमा सक्रिय छ । चाबहिल क्षेत्रलाई आधार बनाएर लामो समय गुन्डागर्दी गरेका उनी दरबारमार्गका राकेश लिम्बूको हत्या आरोपमा केही वर्ष जेल बसेर तीन वर्षअघि छुटेका हुन् । त्यसैगरी,ललितपुरमा मीनकृष्ण महर्जन समूह छ । महर्जन समूहले ललितपुर जिल्लाका हरेकजसो सरकारी ठेक्कापट्टामा कमिसन असूल्ने गरेको छ । भक्तपुरमा लामो समयदेखि गुन्डागर्दी गर्दै आएका ठूलो सगुन भनिने सगुन श्रेष्ठ दुई महिनाअघि मात्र पक्राउ परेका छन् । बालाजुमा माइला लामाको समूह सक्रिय छ । त्यस क्षेत्रको फोहोरको ठेक्का पनि उनकै कम्पनीले पाउँदै आएको छ । उता,स्वयम्भूमा बाघे भनिने बाघबहादुर लामा सक्रिय छन् । केही समय वाइसिएलमा लागेका उनी अहिले कांग्रेसनजिक भएका छन् । बाहुन डन जेल परेपछि उनको समूह भने थला परेको छ । -नयाँ पत्रिका दैनिक




प्रतिक्रिया दिनुहोस्...