दाहाल दिनभर मोर्चाबन्दीमा व्यस्त
काठमाडौ, माघ १ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार दिनभर संविधानसभा र सडकमा मोर्चाबन्दी बलियो बनाउने बैठकमा ब्यस्त रहे । संविधानसभाभित्र तयारी गर्न उनले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सभासद, पदाधिकारी र स्थायी समिति सदस्यसंग छलफल गरे ।
दाहाल बिहीबार दिउँसो १ बजे आन्दोलन परिचालन समितिको बैठक गरी त्यसको तयारीबारे जानकारी लिएका थिए । उनले आगामी आन्दोलनको कार्यक्रम सशस्क्त बनाउन निर्देशन दिए । अपरान्ह ४ बजे दाहालले ३० दलीय गठबन्धन, मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी, पद्मरत्न तुलाधरले नेतृत्व गरको जनजाति आन्दोलनका नेताहरुसंग छलफल गरे । उक्त बैठकलाई सम्बोधन गर्दै दाहालले प्राप्त उपलब्धि गुम्न लागेको दाबी गर्दै आन्दोलन सशक्त गर्नुपर्ने बताए । आक्रामक रुपमा प्रस्तुत भएका दाहालले सत्तारूढ दलले बिगतमा भएका सम्झौता उल्ट्याएको आरोपसमेत लगाए । 'गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत उपलब्धि धरापमा परेका छन्, सम्झौता उल्ट्याउने काम भइरहेको छ' उनको भनाइ थियो, 'उपलब्धिको रक्षा गर्न संयुक्त आन्दोलनको खाँचो छ ।' उनले आन्दोलनमा दमन हुन सक्ने भन्दै प्रतिवादको लागि स्वयंसेवक दस्ता बनाउनु पर्नेमा जोड दिए । 'दमन भए प्रतिवाद गर्नुपर्छ, तर हामी आन्दोलन शान्तिपूर्ण हुनेछ' उनले भनाइ थियो । कार्यक्रममा सहभागी माओवादी अध्यक्ष वैद्यले अग्रगामी संविधान निर्माणका लागि संविधानसभा र बाहिर रहेका शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका थिए । संविधानसभा र बाहिर रहेका बिभिन्न दल र अन्य पक्षबीच संयुक्त आन्दोलन गर्ने निर्णय समेत भएको छ ।