पारस बने डिभिजन २ का उत्कृष्ट खेलाडी


फोटो :फाइल फोटो
काठमाडौं :  नेपाली टिमका कप्तान पारस खड्का नामिबियामा सम्पन्न आइसीसी डिभिजन २ क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आइसीसीले उनको खेलको प्रदर्शनका आधारमा पारसलार्इ प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषणा गरेको हो ।

शनिबार सम्पन्न केन्यासँगको अन्तिम खेलमा पराजित हुँदै नेपाल चौथोमा स्थानमा सीमित भएपनि पारस प्रतियोगिताभरीकै उत्कृष्ट खेलाडी बनेका हुन् ।

डिभिजन २ का खेलमा अलराउन्डर प्रदर्शन गरेका उनले जम्मा १८५ रन बनाएका थिए । केन्याविरुद्दको अन्तिम खेलमा भने उनी शुन्यमै पेभेलियन फर्केन ।

बलिङमा समेत सफल भएका पारसले प्रतियोगिताभरी ६ विकेट लिए । केन्याविरुद्दको शनिबारको खेलमा उनी नचलेपनि नामिबिया र नेदरल्यान्ड्सविरुद्दको खेलमा उनकै अलराउन्डर प्रदर्शनका भरमा नेपालले जित निकालेको थियो ।

डिभिजन २ को पहिलो खेलमा युगान्डासँग हारको सामना गरेपनि पारसले नेपालका लागि ३ विकेट लिएका थिए । उनले सो खेलमा ५ रन पनि जोडे ।

नेदरल्याण्डलार्इ हराउने क्रममा पारसले २५ रन दिँदै २ विकेट झार्न सफल भएका थिए । सोही खेलमा उनले १९ रन जोडेका थिए ।

क्यानडाविरुद्दको उनको प्रदर्शन झनै उत्कृष्ट थियो । उनले क्यानडाविरुद्दको खेलमा नेपाललार्इ ७ विकेटले जिताउने क्रममा ७७ रन जोडे भने एक विकेट पनि झार्न सफल भए ।

आयोजक राष्ट्र नामिबियाविरुद्द ३ विकेटको सननसी जित निकाल्ने क्रममा कप्तानी भूमिका निभाउँदै पारसले ६४ रन बनाउन सफल भए । शुक्रबारको केन्याविरुद्दको खेलमा उनले २० रन जोडे । शनिबार तेस्रो स्थानका लागि केन्याविरुद्द नै भएको खेलमा भने उनले खाता खोल्न सकेनन् । 





प्रतिक्रिया दिनुहोस्...