बैंकबाट ठगी गरी माटाे मुनि गाडेर लुकाएकाे डेढ करोड धमिराले खाएपछि, (भिडियो सहित )


काठमाडौं : मेगा बैंकबाट ठगिएको दुई करोड नौ लाख ९० हजार रुपैयाँमध्ये एक करोड ३१ लाख ७५ हजार माटो र धमिराले खाएर कामै नलाग्ने अवस्थामा भेटिएको छ। ठगीमा संलग्न कान्तिपथ शाखाका म्यानेजर शम्भुबहादुर थापा, धादिङ सिपाङका प्रवीण पाण्डे र प्रदीप पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दै जाने क्रममा एक करोड ३१ लाख ७५ हजार रुपैयाँबराबरका नोट सडेको र गन्नै नसकिने अवस्थामा भेटिएका हुन्।

ठगीका मुख्य योजनाकार मेगा बैंककै धादिङ शाखाका तत्कालीनम्यानेजर राजेन्द्र पाण्डे फरार छन्। शम्भुको सहयोगमा राजेन्द्रले भाइ प्रवीणमार्फत गत वर्ष माघ १२ मा मेगाको नयाँसडक शाखाबाट निकालेको नौ लाख ९० हजार र १३ गते राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखाबाट निकालेको दुई करोड गरी दुई करोड नौ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए। त्यसमध्ये एक करोड ४१ लाख ९० हजार राजेन्द्र र प्रवीणले धादिङ सिपाङस्थित घर पु:याएका थिए। त्यो पैसा प्लास्टिकमा बेरेर उनीहरूले खोपीमा गाडेका थिए। अनुसन्धानअनुसार गत दसैंमा खर्चका लागि पाण्डे दाजुभाइले लुकाएको पैसा हेर्दा १० लाख १५ हजार पाँच सय रुपैयाँमात्रै काम लाग्ने अवस्थामा पाइएको थियो। उनीहरूले करतुत ढाकछोप गर्न धमिरा र माटोले खाएको एक करोड ३१ लाख ७५ हजार रुपैयाँ घरअगाडि खाली जग्गामा पुरेका थिए। यसरी बन्यो ठगी योजना ठगी प्रकरणमा प्रहरी अनुसन्धान थालेपछि मेगाको कान्तिपथ शाखाबाट १० थान चेक जारी भएको तथ्य फेला पा:यो। चेक जारी गर्ने कान्तिपथ शाखा प्रमुख शम्भुमाथि प्रहरीले निगरानी गरिरहेको थियो। प्रवीण २०७० माघ ९ गते मेगामा पुगेका थिए। चलाखीका लागि चेक रिक्विजिसन फाराम रजत तोदी नामका व्यक्तिको नाममा जारी गरिएको थियो। रजतको खाता नम्बर शम्भुले नै राजेन्द्रलाई उपलब्ध गराएका थिए। रजतको खाता विराटनगर मेगा शाखामा थियो। चेक रिक्विजिसन फारामबारे बैंकका ग्राहक सेवाका कर्मचारीले शंका लागेर म्यानेजर शम्भुलाई भन्दा पनि उनले त्यो स्वीकृत गरेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी वसन्त रजौरेका अनुसार पैसा झिकेर राख्न राजेन्द्रले धेरै चलाखी अपनाएका थिए। राजेन्द्रले राष्ट्रिय वाणिज्य बैंक टेकु शाखामा रजतका नाममा नक्कली खाता खोले। रजतको नागरिकता नम्बर शम्भुले दिएका थिए। उक्त खाता खोल्न राजेन्द्र टेकु पुगेको बैंकको सीसीटीभीबाट पत्ता लागेको छ। वाणिज्य बैंक भोटाहिटी शाखामा राजेन्द्रले सञ्जय ढकालको नाममा अर्को नक्कली खाता खोलेका थिए। नागरिकता नम्बर ६२५२३ र ठमेल ठेगाना लेखिएका सञ्जयको कान्तिपथमा खाता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सञ्जयको नागरिकता नम्बर पनि राजेन्द्रलाई शम्भुले नै उपलब्ध गराएका थिए। सञ्जयको नाममा खाता खोलेपछि प्रवीणले मेगाको नयाँसडक शाखाबाट टुरिज्म बैंककबाट २०७० माघ १२ गते नौ लाख ९० हजार रुपैयाँ झिकेका थिए। डीएसपी रजौरेका अनुसार सुरुमा ‘ट्रायल’ का लागि गरेको ठगीधन्दा सफल भएपछि माघ १३ गते भोटाहिटीस्थित वाणिज्य बैंकमा रहेको सञ्जयको खाताबाट ‘चेक क्लियरिङ’ को माध्यमबाट दुई करोड रुपैयाँ जम्मा गरेका थिए। मेगाको पैसा ठग्न राजेन्द्रले आफ्नो नाममा जारी चेक महाराजगन्जस्थित राष्ट्रिय बाणिज्य बैंक शाखामा सबिना खनालको परिचयपत्र दिएर ३५ लाख रुपैयाँमध्ये चार लाखको भुक्तानी लिई ३१ लाख रुपैयाँ रजतको खातामा ट्रान्सफर गरेका थिए। रजतको नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता खोल्न मेगाको कान्तिपथ शाखाका मेनेजर शम्भुले राजेन्द्रलाई सहयोग गरेका थिए। रजतको खातामा जम्मा भएको रकम ६१ लाख एक हजार रुपैयाँ अहिले पनि मौज्दात छ। भुक्तानी लिन कोही नआएको प्रहरीले जनाएको छ। सञ्जयको नाममा धेरै पैसा ट्रान्जेक्सन भएको पाइएपछि प्रहरी उनको खोजीमा लागेको थियो। बैंकक पुगेर ट्राभल डकुमेन्ट हराएका उनलाई थाई अध्यागमनले नेपाल डिपोट गरेपछि प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरी अनुसन्धान गरेको थियो। अनुसन्धानपछि महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले ठगीमा सञ्जयको संलग्नता नपाइएको बताए।’ जोमाथि हाम्रो शंका थियो, उसको संलग्नता नभएपछि टेकुस्थित वाणिज्य ब्यांकको सीसीटीभी हेर्दा राजेन्द्र सञ्जयको नाममा नक्कली खाता खोल्न गएको पाइयो’, कार्कीले भने, ‘मेगाकै कान्तिपथ शाखाका मेनेजर शम्भुले सञ्जयको नाममा खाता खोल्न सबै डकुमेन्ट राजेन्द्रलाई उपलब्ध गराएको पाइयो।’ राजेन्द्रले सञ्जयका नाममा खोलेको बैंक खातामा पनि सात लाख एक हजार रुपैयाँ मौज्दात छ। महाशाखा प्रमुख कार्कीले बैंक ठगिनुमा स्वयं बैंकको पनि लापरबाही भएको बताए। फारर राजेन्द्र क्यानडा गएको आशंका प्रहरीको छ।




प्रतिक्रिया दिनुहोस्...