माथिल्लो तामाकोसीबाट २०७३ साउनमा बिजुली


चरिकोट- दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले २०७३ साउनभित्र बिजुली बाल्ने घोषणा गरेको छ। ७२ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ। यसको प्रारम्भिक र मुख्य काम सिभिल निर्माणतर्फ ८५ प्रतिशतभन्दा बढी सफलता हासिल भइसकेको र ट्रान्समिसन लाइनसहितका बाँकी काम तालिकाभित्रै सम्पन्न भए २०७३ साउनभित्र बिजुली बाल्न सकिने आयोजनाका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए। 'यही रफ्तारमा गइरह्यौं भने २०७३ साउनभित्र बिजुली बाल्न भ्याउँछौं,' श्रेष्ठले भने, 'हालसम्म कामको प्रगति निकै राम्रो छ। सामान्यबाहेक कुनै अवरोध नभएकाले सोही समयभित्र बिजुली बाल्नेमा ढुक्क छौं।' उनले आयोजनाको निकै जटिल मानिने सिभिल निर्माणतर्फका अधिकांश काम सम्पन्न भइसकेको बताए। 'सिभिलतर्फको जटिल काम अब धेरै छैन,' उनले भने, 'ड्याम साइट र त्यहाँको पानी पावरहाउससम्म पुर्याजउने हेडरेस टनेल दुई किलोमिटर खनेपछि सिभिलतर्फका ठूला काम सकिन्छन्।' उनले ती काम सकिन अझै केही महिना लाग्ने बताए। उनका अनुसार सिभिलतर्फ लामाबगर उपत्यकाको तामाकोसी नदीमा बाँध बाँध्ने कामको केही भाग सकिन बाँकी छ। 'तामाकोसी नदीमा बाँधिने बाँधको बाँयापट्टिको काम बाँकी छ,' आयोजना प्रमुख श्रेष्ठले भने, 'नदीलाई अहिले डाइभर्सन गरिएको स्थानबाट दायाँ फर्काएर छिट्टै बाँधस्थलको बायाँपट्टिको काम सुरु गरिनेछ।' उनले उक्त काम सम्पन्न भएपछि बाँधस्थलको सबै काम सकिने बताए। बाँधस्थलबाट पावरहाउससम्म पानी लैजाने हेडरेस सुरुङको आठ किलोमिटर खण्डमध्ये दुई किलोमिटर खन्न बाँकी छ। 'बाँधस्थल र सुरुङको दुई किलोमिटर खन्ने काम सकिएपछि सिभिल निर्माणका ठूला काम सकिनेछन्,' श्रेष्ठले भने। सिभिलतर्फकै पावरहाउस निर्माणसमेत अन्तिम चरणमा रहेको उनले बताए। चार चरणमा निर्माण भइरहेको आयोजनामा सिभिलबाहेकका अन्य कामसमेत द्रूतगतिमा अघि बढिरहेका छन्। आयोजना सिभिल निर्माण, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन निर्माण गरेर चार चरणमा बनिरहेको छ। सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले लिएको छ। सिभिल कामको प्रगतिसँगै अन्य कामसमेत धमाधम अघि बढेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए। हाइड्रोमेकानिकलतर्फ गेट निर्माण, पेनस्टक पाइप र उपकरण जडानको काम सुरु भइसकेको उनले बताए। यो कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे एन्ड इन्जिनियरिङले लिएको छ। यस्तै इलेक्ट्रोमेकानिकलतर्फ समेत पावरहाउसमा टर्बाइनमा डिस्ट्रिब्युटर जडानलगायत ठूला काम सकिएको न्यौपानेले बताए। उत्पादनपछि तामाकोसीको बिजुली दोलखाको सहरेस्थित खिम्ती स्टेसनसम्म लैजाने प्रसारण लाइन निर्माणको कामसमेत धमाधम चलिरहेको छ। प्रसारण लाइनका १ सय २९ मध्ये दुईवटा टावर निर्माण भइसकेको र १६ को जग खन्ने काम सकिएको प्रवक्ता न्यौपानेले बताए। उनले गोंगरबाट खिम्तीसम्म प्रसारण टावरका प्रारम्भिक प्रक्रिया पूरा गरिसकेकाले निर्माणमा अवरोध नहुने र तोकिएकै समयमा पूरा हुने बताए। प्रवक्ता न्यौपानेले चाहिँ २०७३ साउनसम्ममा काम सकिए पनि निरन्तर बिजुली बाल्ने काम सम्पन्न हुन २०७३ मंसिर पुग्नसक्ने बताए। सुरुवाती दिनमा सडकको ढिलासुस्ती, बीचका समयमा सुरुङ निर्माणलगायत कारणले ऊबेला निर्धारण गरिएको तालिकाभन्दा झन्डै डेढ वर्ष आयोजना ढिला भएको थियो।




प्रतिक्रिया दिनुहोस्...